काठमाडौँ । प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले आज सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले सोमबार दलको नेता चयन हुने जानकारी दिए ।
यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा गर्ने तयारी भएको छ ।
थापाले बैठकमा दलको नेतामा सर्वसम्मत नाम अनुमोदन गराएपश्चात् दिउँसो १ बजे सिंहदरबारमा संसदीय दलको बैठक बस्नेछ । उक्त बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्दै सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने रसाइलीले लोकान्तरलाई जानकारी दिए ।
‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापतिले संसदीय दलको नेता घोषणा गर्नुहुन्छ । १ बजे सांसदहरूसँग दलको कार्यालयमा बैठक राखेर नेता चयनले पूर्णता पाउनेछ‚’ उनले लोकान्तरसँग भने ।
एक महिनाभन्दा बढी समयदेखि कांग्रेस संसदीय दलको नेता चयन हुन सकेको छैन ।

