२०८३, आश्विन १९ गते

images

सशस्त्र प्रहरीको नयाँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको नयाँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सोमवार, बैशाख १४ २०८३०३:१०
सोमवार, बैशाख १४ २०८३०३:१०
  • images

    काठमाडौं । सशस्त्र प्रहरी बल को १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उनलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

    हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन्। उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए। सशस्त्र प्रहरी सेवा नियमावलीअनुसार ३० वर्षे सेवाअवधि पूरा भएपछि अनिवार्य अवकाश हुने व्यवस्था छ, तर अर्याल भने पदावधि पूरा भएपछि निर्धारित समयभन्दा अघि नै अवकाशमा जाँदैछन्।

    नवनियुक्त आईजीपी पौडेल र अवकाश हुने अर्याल दुवै नेपाल प्रहरी को १११औँ टोलीबाट निरीक्षक (इन्स्पेक्टर) पदमा एकै मितिमा सेवा प्रवेश गरेका अधिकृत हुन्। उक्त टोलीको भर्ना मिति २०५४ चैत १८ हो। नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्की पनि सोही टोलीका अधिकृत हुन्।

    २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा अर्याल, पौडेललगायतका अधिकृत उक्त संगठनमा समायोजित भएका थिए। समायोजनका क्रममा उनीहरूले एक तह बढुवा समेत पाएका थिए।

    आईजीपी नियुक्तिका लागि पौडेलसँगै एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए। तर बढुवाको ज्येष्ठता र कार्यअनुभवका आधारमा पौडेल अघि देखिएका थिए। उनी २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ मा बढुवा भएका थिए।

    सरकारले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता तथा अनुशासनका आधारमा पौडेललाई आईजीपीमा नियुक्त गरेको जनाएको छ।

    को हुन् नारायणदत्त पौडेल?

    सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका स्थायी बासिन्दा पौडेल हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएका छन्। २०३० मंसिर ९ गते जन्मिएका उनले त्रिभुवन विश्वविद्यालय बाट जनप्रशासन विषयमा स्नातकोत्तर (एमपीए) गरेका छन्।

    उनले सशस्त्र प्रहरी बलका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै दुईवटा बाहिनीको नेतृत्व गरिसकेका छन्। कपिलवस्तुको बिन्ध्यावासिनी बाहिनी र पोखराको मुक्तिनाथ बाहिनीको बाहिनीपति भएर काम गरेका उनी एसपी हुँदा विशेष कार्यदल, सीमा सुरक्षा कार्यालय बर्दिया र नीलबाराही गणको जिम्मेवारीमा पनि रहेका थिए।

    यसबाहेक, उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा समादेशकको जिम्मेवारी समेत सम्हालेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend