२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सेबोन अध्यक्षका लागि आवेदन खुला, ७...

सेबोन अध्यक्षका लागि आवेदन खुला, ७ दिनभित्र योग्य उम्मेदवारबाट दरखास्त आह्वान

सेबोन अध्यक्षका लागि आवेदन खुला, ७ दिनभित्र योग्य उम्मेदवारबाट दरखास्त आह्वान

मंगलवार, बैशाख १५ २०८३१०:१३
मंगलवार, बैशाख १५ २०८३१०:१३
  • images

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ ।

    अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।

    अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै, उच्च नैतिक चरित्र, नेपाली नागरिकता तथा सम्बन्धित कानुनअनुसार अयोग्य नभएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।

    उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड पनि तोकिएको छ । आवेदनका क्रममा बायोडाटा, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा पेशागत अनुभव पुष्टि गर्ने कागजात पेश गर्नुपर्नेछ । साथै, मन्त्रालयको वेबसाइटमा उपलब्ध ढाँचाअनुसार स्वघोषणा फारामसमेत अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

    अर्थ मन्त्रालयले प्राप्त आवेदनहरूबाट सिफारिस समितिले संक्षिप्त सूची तयार गर्ने र आवश्यक परेमा थप विवरण माग गर्नसक्ने जनाएको छ । झुट्टा विवरण पेश गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ । सरकारले धितोपत्र बजारको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन यो सूचना सार्वजनिक गरेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend