काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले निजी क्षेत्रको मनोबल र लगानी वातावरणप्रति चासो व्यक्त गर्दै उद्योगी शेखर गोल्छा सम्बन्धी हालका घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
नाडाले प्रेस विज्ञप्ति जारी गर्दै गोल्छा नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रका सम्मानित व्यक्तित्व भएको उल्लेख गरेको छ। उनले निजी क्षेत्रको नेतृत्व गर्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यस्तो पृष्ठभूमि भएका व्यक्तिमाथि हुने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र व्यवसायिक वातावरणमा नकारात्मक सन्देश जाने संस्थाको ठहर छ।
संस्थाले सत्यतथ्यमा आधारित निष्पक्ष छानबिन हुनुपर्नेमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेको छ। तर अनुसन्धानका नाममा व्यवसायीलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाउने चेतावनी दिएको छ।
नाडाका अनुसार यस्ता गतिविधिले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रासको वातावरण सिर्जना गर्न सक्छ, जसले “लगानीमैत्री नेपाल” को सरकारी नीतिलाई समेत असर पार्नेछ।
यस सन्दर्भमा नाडाले नेपाल सरकार र सम्बन्धित निकायलाई गोल्छामाथि ‘पक्राउ नगरी अनुसन्धान प्रक्रिया अघि बढाउन’ आग्रह गरेको छ। दोष प्रमाणित नभएसम्म प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक छविको संरक्षण गर्नु राज्यको दायित्व भएको पनि विज्ञप्तिमा उल्लेख छ।
संस्थाले निजी क्षेत्रलाई सुरक्षित, सम्मानित र प्रोत्साहित वातावरण प्रदान गर्दै आर्थिक समृद्धिको यात्रामा सहकार्य गर्न सरकारसँग जोडदार माग गरेको छ।

