काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको जनधनको क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा सहयोग गर्न देशभरका अटोमोबाइल व्यवसायीलाई आह्वान गरेको छ।
नाडाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नाडाले राष्ट्रिय विपद्को यो घडीमा राज्यसँग काँधमा काँध मिलाएर उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्नु सबै नागरिकको कर्तव्य भएको जनाएको छ। त्यसका लागि नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भएर सहयोगमा जुट्न नाडाले आग्रह गरेको हो।
राहत कोषमा १० लाख सहयोग
नाडाले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
विपद्को कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने नाडाको विश्वास छ।
सुरक्षा निकाय र सरकारको प्रयासको प्रशंसा
नाडाले विपद्पछिको अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र अथक परिश्रमप्रति कृतज्ञता व्यक्त गरेको छ।
विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गरेको, उद्धार तथा राहत उडानको समन्वय गरेको र विपद् व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी हुन आह्वान गरेको भन्दै नाडाले प्रशंसा गरेको छ।
नाडाले गृहमन्त्रीको आह्वानअनुसार आफ्नो तर्फबाट सहयोग गर्न सधैं तयार रहेको जनाएको छ। मुलुकको आर्थिक संरचनालाई सशक्त बनाउँदै आर्थिक गतिविधिको निरन्तरतासँगै नागरिक सेवामा सक्रिय रहने प्रतिबद्धता पनि नाडाले दोहोर्याएको छ।
नाडा अटो शो भने निरन्तर सञ्चालन हुने
भोटेकोशी बाढीको विपद् नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेका बेला आएको हो। विपद्सँग जुध्दै आर्थिक गतिविधिलाई समेत चलायमान राख्नुपर्ने अवस्था रहेको भन्दै नाडाले भृकुटीमण्डपमा जारी अटो शो निरन्तर सञ्चालनमा रहने स्पष्ट पारेको छ।
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीद्वारा जारी विज्ञप्तिमा विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्न र आर्थिक गतिविधिलाई पनि सँगसँगै चलायमान राख्न अपिल गरिएको छ।

