काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता सम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ । नयाँ निर्देशनमार्फत बीमा अभिकर्ताको कार्यप्रणालीलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्य राखिएको छ ।
प्राधिकरणले बीमितको हकहित संरक्षण गर्दै समग्र बीमा क्षेत्रको विश्वसनीयता बढाउन यो व्यवस्था लागू गरेको जनाएको छ । नयाँ निर्देशनअनुसार बीमा अभिकर्ताको लाइसेन्स वितरणमा कडाइ गरिएको छ । आवश्यक कागजात पेश नगरेमा, बीमितको हित संरक्षण नहुने देखिएमा, करचुक्ता प्रमाणपत्र नपेश गरेमा वा कालोसूचीमा परेका व्यक्तिलाई लाइसेन्स नदिने व्यवस्था गरिएको छ ।
त्यस्तै, कानुनी कारबाहीमा परेका व्यक्तिले कारबाही भएको मितिले तीन वर्ष पूरा नभएसम्म अभिकर्ता लाइसेन्स पाउन नपाउने व्यवस्था गरिएको छ।
योग्यता नपुगेका, दामासाहीमा परेका, कर विवरण अपूर्ण भएका तथा वित्तीय विवरण लेखापरीक्षण नभएका संस्थागत आवेदकलाई पनि अभिकर्ता बन्न अयोग्य हुने प्रावधान राखिएको छ।
प्राधिकरणले बीमा अभिकर्ताका लागि आचारसंहिता पनि लागू गरेको छ। जसअनुसार अभिकर्ताले ग्राहकलाई बीमालेखका सर्त, सुविधा र जोखिमबारे स्पष्ट जानकारी दिनुपर्ने, उपयुक्तता परीक्षण गर्नुपर्ने र दाबी प्रक्रियामा सहयोग गर्नुपर्नेछ।
साथै, अस्वस्थ प्रतिस्पर्धा, प्रलोभन, गोपनीयता उल्लंघन, करकाप, जालसाजी तथा भ्रामक प्रचारजस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ। बीमा प्राधिकरणले नयाँ निर्देशनले बीमा क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरेको छ।

