काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि ४७ जनाको आवेदन परेको छ । धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिका अनुसार आवेदन दिने अन्तिम दिन सोमबारसम्ममा ४७ जनाको आवेदन परेको हो ।
अध्यक्ष पद पूर्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको थियो। सो सूचनामार्फत ७ दिनभित्र इच्छुक तथा योग्य उम्मेदवारलाई आफ्नो व्यक्तिगत विवरण र स्वघोषणा फाराम मात्र बुझाउन आग्रह गरिएको थियो।
नेपाल धितोपत्र बोर्डमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्रदेखि पूर्व अध्ययन समितिका चिन्तामणि शिवाकोटीसम्मले आवेदन दिएका छन् । यस्तै, पित्ताम्बर भण्डारी, सुवासचन्द्र घिमिरे, प्रलाद गिरी रपुरुषोत्तम राज चिमौरिया सहित ४७ जनाले आवेदन परेको पाइएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्षा भुवनकुमार दाहाल छन् ।
धितोपत्रसम्बन्धी ऐनको व्यवस्थाअनुसार अध्यक्ष बन्न चाहने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ।
त्यस्तै, उम्मेदवार नेपाली नागरिक हुनुका साथै उच्च नैतिक आचरण भएको र सम्बन्धित क्षेत्रमा पेसागत अनुभव हासिल गरेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, वन्यजन्तु वा पुरातात्त्विक सम्पदासम्बन्धी कसुरमा दोषी ठहर भएका, कालोसूचीमा परेका र तोकिएको अवधि पूरा नभएका, विदेशी स्थायी आवास अनुमति लिएका तथा सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न व्यक्तिहरू भने प्रतिस्पर्धाबाट बाहिर रहनेछन्।

