२०८३, आश्विन १९ गते

images
  • बिमा
  • स्वास्थ्य परीक्षणदेखि रक्तदानसम्म, नेपाल लाइफको वार्षिकोत्सव...

स्वास्थ्य परीक्षणदेखि रक्तदानसम्म, नेपाल लाइफको वार्षिकोत्सव सामाजिक सेवामा केन्द्रित

स्वास्थ्य परीक्षणदेखि रक्तदानसम्म, नेपाल लाइफको वार्षिकोत्सव सामाजिक सेवामा केन्द्रित

बिहिवार, बैशाख २४ २०८३०२:०९
बिहिवार, बैशाख २४ २०८३०२:०९
  • images

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

    कम्पनीले वैशाख २१ र २२ गते प्रधान कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। आरबी डायग्नोस्टिकमार्फत सञ्चालन गरिएको शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल, युरिक एसिडलगायतका परीक्षण निःशुल्क गरिएको थियो। साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा पनि प्रदान गरिएको कम्पनीले जनाएको छ। दुईदिने शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

    यसैगरी, नेपाल लाइफले देशभरका सातै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। रक्तदान कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ३० पिन्ट, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५ पिन्ट, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६ तथा बनेपामा ३२ पिन्ट रगत संकलन गरिएको छ।

    त्यसैगरी, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ। कार्यक्रममार्फत देशभर कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।

    ‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सले नेपालीहरूको भविष्य सुरक्षित र सुनिश्चित बनाउने उद्देश्यसहित सेवा दिँदै आएको जनाएको छ। कम्पनीले हाल जीवन बीमा क्षेत्रमा करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गरेको छ।

    विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ। साथै ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ।

    वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई यहाँसम्म पुर्‍याउन योगदान दिने सञ्चालक समिति, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले आगामी दिनमा पनि सबैको माया, विश्वास र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend