काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगतका कार्यक्रम विपन्न समुदायको सहारा बन्दै आएको पाइएको छ ।
बैंकले सार्वजनिक गरेको सूचना अनुसार सीएसआर कार्यक्रम विपन्न समुदाय केन्द्रीत रहेको पाइएको हो ।
सीएसआर अन्तर्गत बैंकले देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, वातावरण संरक्षण तथा जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै समुदायस्तरमा सकारात्मक प्रभाव विस्तार गरिरहेको जनाएको छ। बैंकले पछिल्ला महिनाहरूमा सञ्चालन गरेका कार्यक्रमहरू विशेषगरी ग्रामीण तथा विपन्न समुदाय केन्द्रित रहेका छन्।
बैंकले नवलपरासी, बाँके, दाङ, गुल्मी, अर्घाखाँची, कैलाली, बर्दिया, कपिलवस्तु, पाल्पा, रुपन्देही लगायतका जिल्लामा स्वच्छ खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। जिमिरेभार, नवलपरासी तथा राप्ती सोनारी–२, बाँकेमा “खानेपानी जडान सामग्री वितरण कार्यक्रम” सञ्चालन गर्दै समुदायलाई सुरक्षित खानेपानी, सरसफाइ तथा दिगो पानी व्यवस्थापनबारे तालिम दिइएको थियो। कार्यक्रममा घरपरिवारलाई पानी जडान सामग्री वितरण गर्नुका साथै सरसफाइसम्बन्धी व्यवहारिक अभ्याससमेत गराइएको बैंकले जनाएको छ।
त्यसैगरी, दाङको घोराही–११ पलासिपुरमा “स्वच्छ पानी तथा सरसफाइ तालिम” सञ्चालन गरी समुदायलाई स्वच्छ पानी र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गरिएको थियो।
शिक्षा क्षेत्रमा पनि बैंकले विभिन्न स्थानमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग तथा न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरेको छ। भीमदत्त नगरपालिका, गुल्मी, पाल्पा, अर्घाखाँची, बर्दिया र नवलपरासीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, कापी, कलम, ट्रयाकसुट, स्वेटर तथा अन्य शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।
बैंकले स्वास्थ्य तथा सामुदायिक कल्याणका क्षेत्रमा पनि सक्रियता बढाएको छ। कैलालीको अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो भने विभिन्न स्थानमा पोषण सहयोग, खाद्यान्न वितरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमसमेत सञ्चालन गरिएको उल्लेख छ। अर्घाखाँचीमा विपन्न समुदायलाई चामल, दाल, तेल, साबुनलगायतका सामग्री वितरण गरिएको थियो।
यसैबीच, बैंकले वातावरण संरक्षण र सरसफाइ प्रवर्द्धनका लागि भीमदत्त नगरपालिका–१८ गौरादेवी टोलमा “स्वच्छ वातावरण कार्यक्रम” सञ्चालन गरेको थियो। कार्यक्रममा ९३ जना समुदाय सदस्यको सहभागिता रहेको र डस्टबिन, साबुन, ग्लोभ्स, मास्क, ब्रस तथा सरसफाइ सामग्री वितरण गरिएको बैंकले जनाएको छ।
जगदीशपुर ताल क्षेत्रमा “जलमुनिको जीवन” अवधारणाअन्तर्गत सफाइ अभियान सञ्चालन गर्दै वातावरणीय संरक्षण र जलस्रोत व्यवस्थापनमा समुदायको सहभागिता अभिवृद्धि गरिएको पनि बैंकले जनाएको छ। कार्यक्रममा ५५ भन्दा बढी सहभागी रहेका थिए।
त्यस्तै, बैंकले आर्थिक सशक्तीकरण तथा आत्मनिर्भरता अभिवृद्धिका लागि सिलाइ मेसिन वितरण, बाख्रा तथा बंगुर वितरण र जीविकोपार्जनसम्बन्धी सामग्री हस्तान्तरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ। दाङमा गरिबीको रेखामुनि रहेका २५ जनालाई सिलाइ मेसिन वितरण गरिएको थियो भने गुल्मीमा बाख्रा तथा बंगुर वितरण कार्यक्रम सञ्चालन गरिएको थियो।
बैंकले महिला लक्षित वित्तीय साक्षरता कार्यक्रममार्फत डिजिटल बैंकिङ, बचत, ऋण व्यवस्थापन तथा डिजिटल ठगीबाट बच्ने उपायबारे जानकारी प्रदान गरेको जनाएको छ। तुलसीपुर–६ गैडहरमा आयोजित कार्यक्रममा ३५ महिलाको सहभागिता रहेको थियो।
बैंकका अनुसार सीएसआर कार्यक्रमहरू केवल औपचारिकता नभई समुदायको जीवनस्तर सुधार, शिक्षा र स्वास्थ्य पहुँच विस्तार, वातावरण संरक्षण तथा दिगो विकासमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको हो। बैंकले आगामी दिनमा पनि स्थानीय तहसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ।

