काठमाडौँ । इन्धनलगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायीहरूले सडक विभागमा धर्ना दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघ र यससँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिको नेतृत्वमा व्यवसायीहरूले बिहीबार सडक विभाग तथा जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना कार्यक्रम गरेका हुन् ।
निर्माण सामग्री तथा इन्धनको मूल्य अत्यधिक बढ्दा देशभर सञ्चालनमा रहेका आयोजनाहरू प्रभावित बनेको र धेरै आयोजना स्वतः बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरूको भनाइ छ । सरकारले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको महासंघले जनाएको छ ।
व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपमहानिर्देशक डा। सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
महासंघका महासचिव शिवहरि घिमिरेले निर्माण व्यवसायीहरू अहिले चरम आर्थिक संकटमा परेको बताएका छन् । उनका अनुसार बजारमा निर्माण सामग्रीको मूल्य आकासिएपछि पुरानै लागतमा ठेक्का सम्पन्न गर्न असम्भवजस्तै भएको छ ।
“मूल्य समायोजन हुनुपर्छ । अहिलेसम्म पनि मूल्य समायोजनको विषय समाधान हुन सकेको छैन । यति धेरै बढेको मूल्य व्यवसायीले थेग्न सक्ने अवस्था छैन,” उनले भने ।
महासंघले बढेको बजार मूल्यअनुसार ठेक्काको रकम समायोजन गर्न, रोकिएका आयोजनाको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउन तथा आगामी बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
यस्तै, बैंक ग्यारेन्टी, इन्स्योरेन्स तथा अन्य प्रशासनिक समस्याहरू समाधान नगरे निर्माण क्षेत्र थप संकटमा पर्ने व्यवसायीहरूको चेतावनी छ ।
आन्दोलनकै क्रममा व्यवसायीमाथि भइरहेको धरपकडप्रति पनि महासंघले आपत्ति जनाएको छ । अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने महासंघको भनाइ छ ।

