२०८३, आश्विन १९ गते

images
  • समाचार
  • उद्योगी–बैंकर पक्राउप्रति महासंघको आपत्ति, ‘व्यावसायिक वातावरणमा...

उद्योगी–बैंकर पक्राउप्रति महासंघको आपत्ति, ‘व्यावसायिक वातावरणमा त्रास सिर्जना भयो’

उद्योगी–बैंकर पक्राउप्रति महासंघको आपत्ति, ‘व्यावसायिक वातावरणमा त्रास सिर्जना भयो’

शुक्रवार, जेठ १ २०८३०६:२९
शुक्रवार, जेठ १ २०८३०६:२९
  • images

    काठमाडौँ । पछिल्ला केही दिनयता विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यस्ता गतिविधिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गर्नुका साथै लगानीकर्ता र व्यवसायिक समुदायमा नकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरेको छ ।

    महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा निजी क्षेत्र तथा बैंकिङ क्षेत्रका नेतृत्वदायी उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसूरको शैलीमा धरपकड गरिनु उचित नभएको जनाएको छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रमाथि हुने यस्ता कारबाहीले लगानी र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पार्ने महासंघको भनाइ छ ।

    विज्ञप्तिमा आम सर्वसाधारणको निक्षेपमा आधारित बैंकहरूले कर्जा असुली प्रक्रियामा गरेको कामकै कारण बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई पक्राउ गरिनुले बैंकिङ क्षेत्रको साखमा असर पुग्न सक्ने उल्लेख गरिएको छ । महासंघले यसबाट बैंकहरूको निर्णय क्षमता कमजोर हुने, कर्जा प्रवाहमा संकुचन आउन सक्ने तथा समग्र आर्थिक प्रणालीमै नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिएको छ ।

    महासंघले प्रारम्भिक अनुसन्धान पूरा नहुँदै उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, सार्वजनिक रूपमा आरोपित बनाउने तथा ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएको छ । यस्तो कार्यले सम्बन्धित व्यक्तिको मान–प्रतिष्ठामा आँच पुग्ने भएकाले अनुसन्धान प्रक्रियालाई गोप्य र कानुनी मर्यादाभित्र राख्न आग्रह गरिएको छ ।

    त्यस्तै, महासंघले व्यवसायीमाथि देवानी दायित्व सिर्जना हुने प्रकृतिका मुद्दालाई फौजदारी शैलीमा अघि नबढाउन सरकारसँग माग गरेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार नमानीने संवैधानिक व्यवस्थाको सम्मान गर्नुपर्ने महासंघले स्मरण गराएको छ ।

    महासंघले विगत चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्र हाल बनेको करिब दुईतिहाइ बहुमतको सरकारले लिने नीतिगत सुधार र व्यवसायीमैत्री व्यवहारबाट गतिशील बन्ने निजी क्षेत्रको अपेक्षा रहेको पनि उल्लेख गरेको छ । तर पछिल्ला गतिविधिले लगानी विस्तार र लगानीकर्ताको आत्मविश्वासमा नकारात्मक असर पर्ने खतरा बढेको भन्दै व्यवसायिक आत्मविश्वास अभिवृद्धि गर्ने वातावरण निर्माण गर्न सरकारसँग अपिल गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend