२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सन्दीपको विश्व कीर्तिमानसँगै स्कटल्यान्डमाथि नेपालको ६...

सन्दीपको विश्व कीर्तिमानसँगै स्कटल्यान्डमाथि नेपालको ६ विकेटको जित

सन्दीपको विश्व कीर्तिमानसँगै स्कटल्यान्डमाथि नेपालको ६ विकेटको जित

सोमवार, जेठ ४ २०८३०४:४५
सोमवार, जेठ ४ २०८३०४:४५
  • images

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल अंकतालिकाको सातौँ स्थानबाट दुई स्थान माथि उक्लिँदै पाँचौँ स्थानमा पुगेको छ।

    स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८।१ ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहित पौडेलले नटआउट ७४ रनको महत्वपूर्ण इनिङ खेले। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे। इशानले ६१ बलमा ५५ रन जोडे।

    यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। कुशल २८ र आसिफ २९ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी २ रनमै पभेलियन फर्किँदा आरिफ शेख ८ रनमा अविजित रहे। स्कटल्यान्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले १ विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९।१ ओभरमा १९४ रनमा अलआउट भएको थियो। स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ७३ रन बनाए। माइकल इंग्लिसले ५१ रन जोडे।

    नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ४७ रन दिँदै ३ विकेट हात पारे। यही खेलमा सन्दीपले ओडीआईमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडे। सन्दीपले ७३ खेलमै उक्त उपलब्धि हासिल गरे, जबकि स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।

    जितसँगै नेपालले २७ खेलबाट २२ अंक जोडेको छ। समान २२ अंक रहेको नामिबिया रनरेटका आधारमा नेपालभन्दा पछि छैटौँ स्थानमा छ। शीर्ष स्थानमा रहेको स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकमै कायम छ। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend