२०८३, आश्विन १९ गते

images
  • समाचार
  • टिकटक र डोउयिनमार्फत नेपाल पर्यटन बोर्डको...

टिकटक र डोउयिनमार्फत नेपाल पर्यटन बोर्डको डिजिटल प्रवर्द्धन अभियान

टिकटक र डोउयिनमार्फत नेपाल पर्यटन बोर्डको डिजिटल प्रवर्द्धन अभियान

बुधवार, जेठ ६ २०८३१०:३६
बुधवार, जेठ ६ २०८३१०:३६
  • images

    काठमाडौँ । नेपाल पर्यटन बोर्ड ले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन टिकटक तथा डोउयिनमार्फत विशेष डिजिटल अभियान सञ्चालन गरेको छ । छोटो गन्तव्य केन्द्रित दृश्यात्मक भिडियो सामग्रीमार्फत विश्वभरका पर्यटकलाई नेपालका आकर्षक गन्तव्यहरू चिनाउने उद्देश्यसहित अभियान अघि बढाइएको बोर्डले जनाएको छ ।

    अभियानअन्तर्गत हालसम्म लाङटाङ ट्रेक, गोसाइँकुण्ड, बन्दीपुर, चितवन राष्ट्रिय निकुञ्ज तथा बर्दियालगायतका पर्यटकीय गन्तव्य र अनुभव समेटिएका प्रवर्द्धनात्मक भिडियो सामग्री सार्वजनिक भइसकेका छन् । बोर्डका अनुसार थप सामग्री निर्माणको क्रममा रहेका छन् भने कुल २५ वटा लक्षित भिडियो सामग्री निर्माण तथा प्रसारण गर्ने योजना रहेको छ ।

    चिनियाँ बजारलाई विशेष प्राथमिकतामा राख्दै बोर्डले चीनस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा टिकटकको चिनियाँ संस्करण डोउयिनमार्फत पनि छुट्टै डिजिटल प्रवर्द्धन अभियान सुरु गरेको जनाएको छ । यसअन्तर्गत चिनियाँ पर्यटकलाई लक्षित गरी चिनियाँ भाषामा श्रव्य–दृश्य सामग्री उत्पादन तथा प्रसारण भइरहेको छ ।

    नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमतसिंह ऐयरले डिजिटल प्लेटफर्महरू विश्वव्यापी पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको बताए । उनका अनुसार टिकटक र डोउयिनजस्ता प्लेटफर्ममार्फत नेपाललाई युवा तथा अनुभवमुखी यात्रुहरूमाझ अझ आकर्षक र सहज रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त भएको छ ।

    बोर्डले यस्ता डिजिटल अभियानले नेपालको पर्यटन दृश्यता अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नुका साथै विश्वभरका डिजिटल प्रयोगकर्तामाझ नेपालप्रति आकर्षण र गन्तव्य चेतना बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

    साथै बोर्डले पर्यटन व्यवसायी, पर्यटनसम्बद्ध संघसंस्था, सञ्चारमाध्यम, कन्टेन्ट क्रियटर तथा सर्वसाधारणलाई आफ्ना सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत अभियानका सामग्रीहरूको प्रवर्द्धन, साझेदारी र प्रसारमा सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend