काठमाडौँ । बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब, असुरक्षित कार्य वातावरण र मानसिक तनावका कारण कर्मचारीहरू गम्भीर संकटमा परेको भन्दै विभिन्न बैंकका कर्मचारी संगठनहरूले सरकार तथा नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले हालै ग्लोबल आइएमई बैंक विराटनगर शाखामा कार्यरत कर्मचारी पिताम्बर खड्काको आत्महत्यापछि संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रमा श्रम अधिकार, मानसिक स्वास्थ्य र कार्य संस्कृतिका विषयमा गम्भीर बहस आवश्यक भएको बताएका हुन् ।
संयुक्त विज्ञप्तिमा पछिल्ला वर्षहरूमा बैंकिङ क्षेत्रमा अत्यधिक कार्यदबाब, अस्वस्थ कार्यसंस्कृति, काम–जीवन सन्तुलनको अभाव तथा निरन्तर मानसिक तनावका कारण कर्मचारीहरूको व्यक्तिगत, पारिवारिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर परेको उल्लेख गरिएको छ ।
संगठनहरूले बैंकिङ नियम र कानुनअनुसार काम गर्दा समेत कर्मचारीहरूले विभिन्न समूहबाट दुर्व्यवहार, धम्की, व्यक्तिगत अपमान तथा असुरक्षाको सामना गर्नुपरेको आरोप लगाएका छन् । सामान्य बैंकिङ प्रक्रियालाई समेत “गैरकानुनी” भन्दै कर्मचारीमाथि अनावश्यक कानुनी झमेला, सामाजिक आरोप र मानसिक दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको उनीहरूको भनाइ छ ।
विज्ञप्तिमा नेपालको संविधान र प्रचलित कानुनले प्रत्येक श्रमिकलाई सुरक्षित, सम्मानजनक र मर्यादित कार्य वातावरणको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै सरकारले बैंकिङ क्षेत्रमा श्रम मापदण्डको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । साथै कार्यसमय व्यवस्थापन, अतिरिक्त कामको स्पष्ट व्यवस्था, मानसिक स्वास्थ्य परामर्श प्रणाली र कार्यस्थलमा हुने दुर्व्यवहारविरुद्ध कडा संयन्त्र निर्माण गर्न माग गरिएको छ ।
कर्मचारी संगठनहरूले पिताम्बर खड्काको आत्महत्याको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन् । यदि कसैको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब, दुरुत्साहन, गैरजिम्मेवार व्यवहार वा संस्थागत लापरवाही प्रमाणित भए कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरूले बैंकिङ क्षेत्रको दिगो विकासका लागि कर्मचारीमैत्री कार्यसंस्कृति, सुरक्षित वातावरण र श्रम अधिकारको प्रत्याभूति अपरिहार्य रहेको उल्लेख गर्दै बढ्दो मानसिक दबाब र कार्यस्थल दुर्व्यवहारका घटनालाई गम्भीर रूपमा लिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
उक्त संयुक्त विज्ञप्तिमा एभरेष्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एनआईसी एशिया बैंक कर्मचारी संघ, प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियन, नेपाल एसबीआई बैंक कर्मचारी संघ, हिमालयन बैंक कर्मचारी संगठन र सिद्धार्थ बैंक कर्मचारी संघलगायतका संगठनहरूको समर्थन रहेको उल्लेख छ ।

