काठमाडौँ । सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता तत्कालका लागि रोक्न निर्देशन दिएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक परिपत्र जारी गर्दै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीसाधनको नयाँ दर्ता नगर्न सबै प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको हो ।
विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप तथा ट्राफिक जाम बढ्दै गएको र त्यसले आवागमनमा समस्या सिर्जना गरेको निष्कर्ष निकालिएको छ । साथै इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता र चुनौती देखिएको उल्लेख गरिएको छ ।
विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा १४ को उपदफा (३) अनुसार सार्वजनिक हितका लागि कुनै पनि प्रकारका सवारीसाधनको दर्ता रोक्न सकिने कानुनी व्यवस्था रहेको भन्दै सोही आधारमा निर्णय गरिएको जनाएको छ ।
जारी पत्रअनुसार अब प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरूले सार्वजनिक सवारीसाधन, विद्युतीय सार्वजनिक सवारीसाधन समेत, को नयाँ दर्ता प्रक्रिया तत्कालका लागि रोक्नुपर्नेछ ।
विभागले सार्वजनिक यातायातको व्यवस्थित सञ्चालन, सडकको अवस्था, बढ्दो सवारी चाप र वातावरणीय असरलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जनाएको छ ।

