काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । अध्यक्ष छनोट सिफारिस समितिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणपछि तीन जनाको नाम अर्थ मन्त्रालयमा पठाएको हो ।
समितिले जेठ ८ गते उम्मेदवारहरूसँग अर्थ मन्त्रालयमा छलफल गरेको थियो । प्रारम्भिक छनोटमा परेका चार जनामध्येबाट तीन जनाको नाम अन्तिम सिफारिसमा परेको हो ।अर्थ मन्त्रालय स्रोतका अनुसार विनयदेव आचार्य,मुकुन्द कुमार क्षेत्री र डा। गोपाल प्रसाद भट्टको नाम अध्यक्षका लागि सिफारिस गरिएको छ ।
सिफारिसमा परेका आचार्य हाल बोर्डकै कार्यकारी निर्देशक हुन् भने क्षेत्री र भट्ट दुवै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।संक्षिप्त सूचीको पहिलो नम्बरमा रहेका डा। नवराज अधिकारी भने अन्तिम सिफारिसमा परेनन् । अधिकारी बोर्डकै पूर्वकार्यकारी निर्देशक हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार अपराह्न साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतका अनुसार यही बैठकबाट सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने सम्भावना रहेको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ उपदफा ३ अनुसार अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको थियो । समितिले वैशाख १५ गते इच्छुक व्यक्तिबाट आवेदन माग गरेकोमा ४७ जनाले आवेदन दिएका थिए ।
४७ आवेदकमध्ये चार जनाको संक्षिप्त सूची तयार गरी अन्तर्वार्ता तथा प्रस्तुतीकरण गरिएको थियो । त्यसपछि समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा पठाएको हो । अब अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेछन् ।

