काठमाडौं । अमेरिकी विदेशमन्त्रीमार्को रुबियोको भारत भ्रमणलाई केवल नियमित कूटनीतिक भेटका रूपमा नभई दक्षिण एशिया र इन्डो–प्यासिफिक क्षेत्रको बदलिँदो शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । चीनसँग बढ्दो प्रतिस्पर्धा, ऊर्जा संकट, व्यापार विवाद र सुरक्षा साझेदारीका बीच भएको यो भ्रमणले भारत–अमेरिका सम्बन्धलाई नयाँ मोडतर्फ लैजाने संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेइजिङमा चीनसँगको सम्बन्धलाई ‘जी–टु’ अर्थात् दुई महाशक्तिको केन्द्रका रूपमा व्याख्या गरेको केही दिनमै रुबियो भारत पुगेका हुन् । त्यसैले पनि उनको भ्रमणलाई वासिङ्टनले चीन र भारतबीच रणनीतिक सन्तुलन कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।
भारत भ्रमणका क्रममा रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्दै क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति, व्यापार र इन्डो–प्यासिफिक रणनीतिबारे छलफल गरेका छन् । भेटपछि रुबियोले मोदीलाई ह्वाइट हाउस भ्रमणको निमन्त्रणा समेत दिएका छन् ।
इरान युद्धपछि उत्पन्न ऊर्जा संकटका कारण भारतमाथि ठूलो दबाब परेको अवस्थामा अमेरिकाले आफू भारतको भरपर्दो ऊर्जा साझेदार बन्न सक्ने संकेत दिएको छ । भारत आफ्नो ८० प्रतिशतभन्दा बढी ऊर्जा आयातमा निर्भर छ भने ठूलो हिस्सा हर्मुज जलमार्ग हुँदै आउने गर्छ । यही सन्दर्भमा रुबियोले भारतलाई अमेरिकी तेल तथा ऊर्जा उत्पादन खरिद बढाउन आग्रह गरेका छन् ।
यद्यपि व्यापारिक सम्बन्धमा भने दुवै देशबीच अझै केही असन्तुष्टि कायम छ । अमेरिकाले भारतीय वस्तुमा उच्च ट्यारिफ लगाएपछि सम्बन्धमा केही चिसोपन आएको थियो । विशेषगरी भारतले रुसी तेल खरिदलाई निरन्तरता दिएपछि वासिङ्टन असन्तुष्ट बनेको थियो । पछि केही महसुल घटाइए पनि व्यापक व्यापार सम्झौता भने अझै टुंगोमा पुगेको छैन ।
रुबियोको भ्रमणमा क्वाड्रिल्याटरल सेक्युरिटी डायलग अर्थात् क्वाड गठबन्धन पनि प्रमुख एजेन्डामा रहेको छ । अमेरिका, भारत, जापान र अष्ट्रेलियाबीचको यो समूहलाई चीनको बढ्दो सैन्य तथा आर्थिक प्रभाव रोक्ने रणनीतिक संयन्त्रका रूपमा हेरिन्छ ।
अमेरिकाले भारतलाई इन्डो–प्यासिफिक क्षेत्रमा चीनलाई सन्तुलनमा राख्न सक्ने प्रमुख साझेदारका रूपमा हेरेको छ । यही कारण रक्षा, प्रविधि र सामरिक सहकार्यलाई वासिङ्टनले निरन्तर प्राथमिकता दिइरहेको छ ।
तर पाकिस्तानसँग अमेरिकाको पछिल्लो निकटताले भने भारतलाई असहज बनाएको देखिन्छ । विशेषगरी पाकिस्तानका सेना प्रमुख आसिम मुनिरसँग ट्रम्प प्रशासनको बढ्दो सामीप्यले दिल्लीमा आशंका पैदा गरेको भारतीय विश्लेषकहरूको भनाइ छ ।
अमेरिकी रणनीतिक वृत्तमा अहिले एउटा बहस चलिरहेको छ,के भारत चीनजस्तै अर्को शक्तिशाली प्रतिस्पर्धी बन्ने बाटोमा छ, वा अमेरिका नेतृत्वको विश्व व्यवस्थाभित्र सुधारवादी साझेदारका रूपमा रहनेछ रु धेरै अमेरिकी विश्लेषकहरूले भारतलाई चीनभन्दा फरक राजनीतिक र संस्थागत संरचना भएको मुलुकका रूपमा चित्रण गर्दै दीर्घकालीन साझेदारको सम्भावना बलियो रहेको बताएका छन् ।
रुबियोको भारत भ्रमणले तत्कालै दिल्ली–वासिङ्टन सम्बन्धको दिशा परिवर्तन नगरे पनि दुवै देशबीचको रणनीतिक साझेदारी अझ गहिरो बनाउने संकेत भने स्पष्ट देखिएको छ ।

