२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न

बुधवार, जेठ १३ २०८३०२:५६
बुधवार, जेठ १३ २०८३०२:५६
  • images

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी एक दिवसीय विशेष प्रशिक्षण कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरेको छ।

    संस्थागत सुशासन, वित्तीय अनुशासन र पारदर्शितालाई सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थामा जोड

    कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा। हरिकुमार नेपाल रहनुभएको थियो। उहाँले सम्पत्ति शुद्धीकरण निवारणका सन्दर्भमा बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र यसको व्यावहारिक कार्यान्वयनका चुनौतीबारे विस्तृत प्रस्तुतीकरण दिनुभयो।

    डा. नेपालले आफ्नो प्रस्तुतीकरणका क्रममा (AML/CFT/CPF) सम्बन्धी कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया (KYC), शंकास्पद कारोबारको पहिचान र अन्तर्राष्ट्रिय रूपमा भइरहेका पछिल्ला गतिविधिहरूका विषयमा सहभागीहरूलाई स्पष्ट पार्नुभएको थियो।


    संस्थागत सुशासन र दिगोपनका लागि प्रभावकारी अनुपालन आवश्यक

    कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा AML/CFT को अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्त्वपूर्ण पक्षका रूपमा औँल्याउनुभयो। उहाँले प्रभावकारी अनुपालनले मात्रै कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो।

    यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीणरमण पराजुलीले प्रचलित कानुनहरूको व्यावहारिक कार्यान्वयनको महत्त्वमा जोड दिनुभयो। सीईओ पराजुलीले भन्नुभयो । नियामकीय आवश्यकताहरूलाई केवल नीतिगत स्तरमा मात्र सीमित नराखेर नेपाल लाइफले आफ्नो दैनिक कार्यप्रणालीमै अत्यन्त प्रभावकारी रूपमा लागू गरिरहेको छ।

    वित्तीय अपराध न्यूनीकरणमा प्रतिबद्धता

    यस प्रशिक्षणबाट प्राप्त व्यावहारिक ज्ञानले वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन ठूलो सहयोग पुगेको कम्पनीले जनाएको छ।

    नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिने स्पष्ट पारेको छ। कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा कानुनी अनुपालनलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने आफ्नो प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend