काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड एनएफआरएस १७ प्रभावकारी रूपमा कार्यान्वयन गर्न विश्वप्रसिद्ध परामर्शदाता संस्था KPMG Assurance and Consulting Services LLP लाई कार्यान्वयन साझेदारका रूपमा नियुक्त गरेको छ ।
नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको एनएफआरएस १७ ९बीमा सम्झौता० लाई व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुरूप कार्यान्वयन गर्ने उद्देश्यसहित कम्पनीले यो रणनीतिक कदम अघि बढाएको हो । यसका लागि नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृतिसमेत प्राप्त भइसकेको कम्पनीले जनाएको छ ।
केपीएमजी विश्वका चर्चित ‘बिग फोर’ व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो । यसले लेखापरीक्षण, परामर्श, कर तथा जोखिम व्यवस्थापन क्षेत्रमा विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आएको छ । विशेषगरी आईएफआरएस १७ रएनएफआरएस १७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्ड कार्यान्वयनमा केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक दक्षता उल्लेखनीय मानिन्छ ।
दक्षिण एशियाली बजार, विशेषगरी भारतमा केपीएमजीको बलियो उपस्थिति तथा स्थानीय वित्तीय प्रणालीबारेको गहिरो बुझाइका कारण नेपालजस्ता विकासोन्मुख बजारमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास रहेको कम्पनीले जनाएको छ ।
सिटिजन लाइफका अनुसार यस साझेदारीमार्फत कम्पनीले एनएफआरएस १७ कार्यान्वयनमा अन्तर्राष्ट्रियस्तरको विशेषज्ञता प्राप्त गर्नुका साथै ‘ज्ञान हस्तान्तरण’ मार्फत आफ्ना कर्मचारीको आन्तरिक क्षमता अभिवृद्धि गर्ने अवसर पनि पाउनेछ ।
सम्झौताको अवधि साढे तीन वर्ष रहनेछ । यसअन्तर्गत प्रारम्भिक कार्यान्वयन चरणसँगै तीन वर्षसम्म कार्यान्वयनपछिको प्राविधिक सहयोग सेवा पनि समावेश गरिएको छ । कम्पनीले यसबाट प्रणालीको दीर्घकालीन स्थायित्व, निरन्तर प्राविधिक सहयोग तथा संस्थागत दक्षताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
कम्पनीका अनुसार यो पहलले सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय लेखा तथा वित्तीय प्रतिवेदन मापदण्डअनुरूप अझ पारदर्शी, विश्वसनीय र सुदृढ बीमा संस्थाको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।

