काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज (शुक्रबार) बजेट प्रस्तुत गर्दै छ ।
दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो ।
गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याउन लागेको यो पहिलो बजेट हो । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।
अर्थमन्त्री वाग्लेले चालु बजेटभन्दा २ देखि ३ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारी गरेका छन् । यस वर्षको बजेटमा कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि (आईटी) , रोजगारी, शिक्षा, स्वास्थ्य लगायतलाई मुख्य प्राथमिकतामा राख्ने तयारी सरकारको छ ।
संविधानअनुसार हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने व्यवस्था छ । गणतन्त्र दिवसकै अवसरमा बजेट सार्वजनिक गर्ने परम्परा यस वर्ष पनि निरन्तर रहनेछ ।

