काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
सिबिफिनले आइतबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय सुस्ताएको अर्थतन्त्र, कमजोर आर्थिक गतिविधि, निजी क्षेत्रको घट्दो आत्मविश्वास, कर्जा विस्तारमा आएको सुस्तता तथा बढ्दो खराब कर्जाजस्ता चुनौतीका बीच प्रस्तुत बजेटले अर्थतन्त्रलाई पुनः गतिशील बनाउने आशाको आधार तयार गरेको जनाएको छ।
परिसंघका अनुसार कर प्रणालीमा सुधार, उद्योग व्यवसायलाई उपलब्ध गराइएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि तथा पूर्वाधार विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विस्तार, लगानीमैत्री वातावरण निर्माण र बैंकिङ क्षेत्रमा चुनौतीका रूपमा रहेको खराब कर्जा व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा बजेटका सकारात्मक पक्ष हुन्।
सिबिफिनले विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारी घोषणालाई बैंकिङ क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ। परिसंघका अनुसार यसले बैंकहरूको गैर बैंकिङ सम्पत्ति तथा खराब कर्जाको व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकता दिएको सिबिफिनको ठहर छ। व्यक्तिगत आयकरको छुट सीमामा गरिएको वृद्धि, करका दरमा पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनको व्यवस्था सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ।
सिबिफिनले बजेटमा समावेश नीतिहरूले आन्तरिक तथा बाह्य लगानी विस्तार, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा निजी क्षेत्रको पुनर्जागरणमार्फत समग्र अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।
साथै, बजेटमा समेटिएका जनमुखी तथा विकासमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको परिसंघले जनाएको छ।
आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार तथा दिगो आर्थिक वृद्धिका लागि सरकारसँग सहकार्य गर्न सिबिफिन पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

