काठमाडौँ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई नयाँ उचाइमा पुर्याउँदै आगामी जुन ४, २०२६ देखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। चीनको ‘सिलिकन भ्याली’ भनेर चिनिने शेन्जेनसँग नेपालको राजधानी काठमाडौंलाई सिधै जोड्ने यो उडानलाई नेपालको नागरिक उड्डयन इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
नयाँ सेवाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुई पटक नियमित उडान हुनेछ। काठमाडौंबाट शेन्जेनका लागि हरेक मङ्गलबार र बिहीबार उडान हुने तथा शेन्जेनबाट काठमाडौंका लागि बुधबार र शुक्रबार फर्कने तालिका तय गरिएको एयरलाइन्सले जनाएको छ।
हिमालय एयरलाइन्सका अनुसार नेपाल–चीनबीच बढ्दो पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन यो नयाँ गन्तव्य थपिएको हो। कम्पनीले यात्रुको माग र बजारको सम्भावनाअनुसार आगामी दिनमा उडान संख्या थप विस्तार गर्ने योजना समेत अघि सारेको छ।
नयाँ रुट शुभारम्भबारे उत्साह व्यक्त गर्दै कम्पनिका उपाध्यक्ष विजय श्रेष्ठले चीनमा नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिअन्तर्गत शेन्जेनलाई जोडिएको बताए। उनका अनुसार यो उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउनुका साथै पर्यटन, व्यापार तथा आर्थिक सहकार्यलाई नयाँ गति दिनेछ।
“हिमालय एअरलाइन्सले चीनका विभिन्न शहरहरूसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गरिरहेको छ। काठमाडौं–शेन्जेन उडानले दुवै देशका यात्रु, व्यवसायी तथा पर्यटकलाई सहज आवागमनको अवसर प्रदान गर्नेछ,” श्रेष्ठले भने।
चीनको प्रमुख आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन विश्वप्रसिद्ध प्रविधि कम्पनीहरूको केन्द्र मानिन्छ। यस शहरसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि नेपाली व्यवसायी, विद्यार्थी, पर्यटक तथा लगानीकर्ताले ठूलो लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
हिमालय एअरलाइन्सले नयाँ रुटमा पनि उच्च सुरक्षा मापदण्ड, गुणस्तरीय सेवा तथा आरामदायी यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार यात्रुहरूले काठमाडौं–शेन्जेन–काठमाडौं उडानको टिकट एअरलाइन्सका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, मोबाइल एप तथा आधिकारिक वेबसाइटबाट बुक गर्न सक्नेछन्।

