काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति भारतले औपचारिक प्रतिक्रिया जनाएको छ। भारतीय विदेश मन्त्रालयले दुई देशबीचका सीमा सम्बन्धी विषयहरू समाधान गर्न स्थापित द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै यस प्रक्रियामा कुनै तेस्रो पक्षको भूमिका नरहेको स्पष्ट पारेको छ।
मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले प्रधानमन्त्री बालेनको टिप्पणीबारे भारतले ध्यान दिएको बताउँदै नेपाल–भारत सीमाको अधिकांश भागको सीमांकन सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार करिब ९८ प्रतिशत सीमा निर्धारण भइसकेको छ भने दशगजा क्षेत्र तथा केही सीमित विवादित स्थानहरूमा मात्र समाधान हुन बाँकी विषयहरू रहेका छन्।
जैसवालले गण्डक नदीको बहाव परिवर्तनका कारण केही क्षेत्रमा सीमा व्यवस्थापनसम्बन्धी जटिलता उत्पन्न भएको उल्लेख गर्दै त्यस्ता विषयहरूलाई सम्बोधन गर्न दुवै देशबीच स्थापित द्विपक्षीय संयन्त्रमार्फत छलफल भइरहेको बताए। उनले सीमा क्षेत्रको सुरक्षाका लागि दशगजा क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएको पनि जानकारी दिए।
प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमा विवादबारे बोल्दै ‘भारतले मात्र नेपालको भूमि अतिक्रमण गरेको होइन, नेपालले पनि भारतको भूमि केही स्थानमा मिचेको तथ्य भेटिएको’ बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विवादबारे बोल्दै प्रधानमन्त्री शाहले नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाइसकेको र दुवै देशका इतिहासविद् तथा सर्भेयरहरूको सहभागितामा वार्तामार्फत समाधान खोज्ने सहमति भएको बताएका थिए। उनले ब्रिटिस भारतकालदेखि कायम रहेको सीमा समस्याको समाधान कूटनीतिक संवादबाटै सम्भव रहेको धारणा पनि राखेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर नेपालभित्र सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक विवाद चर्किरहेका बेला भारतको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो। भारतले सीमा सम्बन्धी विषयहरूलाई दुई देशबीचको आपसी संवाद र स्थापित संयन्त्रमार्फत समाधान गर्ने आफ्नो पुरानै अडान दोहोर्याएको छ।

