विश्वकै संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ होर्मुज फेरि सैन्य तनावको केन्द्र बनेको छ। अमेरिका र इरानबीचको द्वन्द्व पुनः चर्किँदा मध्यपूर्वमा युद्धको खतरा बढेको छ। अमेरिकी सेनाले इरानको सैन्य संरचनामाथि हवाई आक्रमण गरेको दाबी गरेको छ भने इरानले त्यसको प्रतिकारस्वरूप अमेरिकी सैन्य अखडा र उपकरणहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको जनाएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार स्ट्रेट अफ होर्मुजस्थित क्युशम टापुमा रहेको इरानी सैन्य कमाण्ड तथा नियन्त्रण केन्द्रलाई निशाना बनाइएको हो। सेन्टकमले इरानले कुवेत र बहराइनतर्फ प्रहार गरेका ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरूलाई अमेरिकी तथा साझेदार मुलुकका वायु रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको दाबी गरेको छ।
अमेरिकी पक्षका अनुसार इरानले कुवेततर्फ दुई र बहराइनतर्फ तीन क्षेप्यास्त्र प्रहार गरेको थियो। केही क्षेप्यास्त्र लक्ष्यमा पुग्नुअघि नै खसेका थिए भने अन्यलाई वायु सुरक्षाले ध्वस्त बनाएको जनाएको छ। सेन्टकमले अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालनमा रहेका नागरिक जहाजलाई लक्षित गरिएका तीनवटा इरानी ड्रोन पनि खसालिएको जानकारी दिएको छ।
यता इरानले भने अमेरिकी दाबीलाई अस्वीकार गर्दै आफ्नो प्रतिकारात्मक कारबाही सफल भएको जनाएको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य उपस्थितिमाथि गरिएको आक्रमण ‘आत्मरक्षाका लागि गरिएको जवाफी कदम’ भएको बताएको छ। साथै, होर्मुज क्षेत्रमा इरानको सुरक्षामाथि हस्तक्षेप भए थप कडा जवाफ दिइने चेतावनी समेत दिएको छ।
केही महिनादेखि जारी युद्धविराम प्रयास असफल भएपछि दुवै देश पुनः सैन्य गतिविधिमा उत्रिएका हुन्। वार्ता निष्कर्षविहीन बनेसँगै खाडी क्षेत्रमा तनाव बढ्दै गएको छ। ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज क्षेत्रमा अस्थिरता बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्तिलाई लिएर समेत चिन्ता बढ्न थालेको छ।
यसैबीच, अमेरिकी सेनाले नाकाबन्दी अभियानअन्तर्गत इरानतर्फ गइरहेको एउटा तेल ट्याङ्करलाई निष्क्रिय बनाएको जनाएको छ। अमेरिकी दाबीअनुसार ‘एमआरटी लेक्सी’ नामक जहाजले पटक–पटकका चेतावनी बेवास्ता गरेपछि हेलफायर क्षेप्यास्त्रमार्फत त्यसको इन्जिन कक्षमा आक्रमण गरिएको थियो। सेन्टकमले उक्त घटनाको भिडियो फुटेज सार्वजनिक गर्दै नाकाबन्दी सुरु भएयता छ वटा व्यावसायिक जहाजलाई निष्क्रिय पारिएको र १२२ वटा जहाजले आफ्नो मार्ग परिवर्तन गरेको दाबी गरेको छ।
तनाव चुलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग सम्झौताको ढोका अझै खुला रहेको संकेत दिएका छन्। उनले इरान अन्ततः वार्तामा फर्किन चाहेको दाबी गर्दै सम्भावित शान्ति सम्झौताका सर्तहरूबारे आन्तरिक छलफल जारी रहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार नयाँ प्रस्तावमा होर्मुज क्षेत्र खुला राख्ने, इरानको उच्च संवर्द्धित युरेनियम व्यवस्थापन गर्ने तथा आणविक कार्यक्रमसम्बन्धी वार्ता पुनः सुरु गर्ने विषय समावेश छन्।
तर इरानले अमेरिकाले बारम्बार आफ्नो अडान परिवर्तन गरिरहेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले वासिङ्टनका मागहरू विरोधाभासी र अविश्वसनीय बन्दै गएको टिप्पणी गरेका छन्।
उता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कंग्रेससमक्ष दिएको बयानमा इरानलाई कुनै पनि प्रतिबन्ध छुट नदिइने स्पष्ट पारेका छन्। उनका अनुसार इरानको आणविक कार्यक्रमसँग सम्बन्धित मूल विवाद समाधान नभएसम्म अमेरिकी प्रतिबन्ध यथावत रहनेछ।
मध्यपूर्वमा फेरि युद्धको संकेत देखिन थालेसँगै अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरिरहेको छ।

