२०८३, आश्विन १९ गते

images
  • समाचार
  • लगानीकर्ताको चासोको विषय : पूँजीगत लाभकर...

लगानीकर्ताको चासोको विषय : पूँजीगत लाभकर अन्तिम भनेको वास्तवमा के हो ?

लगानीकर्ताको चासोको विषय : पूँजीगत लाभकर अन्तिम भनेको वास्तवमा के हो ?

बुधवार, जेठ २० २०८३११:४५
बुधवार, जेठ २० २०८३११:४५
  • images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउँदै त्यसलाई ‘अन्तिम कर’ बनाउने घोषणा गरेपछि लगानीकर्तामाझ नयाँ बहस सुरु भएको छ। करको दर बढेको विषयभन्दा पनि ‘अन्तिम कर’ भनेको वास्तवमा के हो भन्ने विषयमा धेरै लगानीकर्ता अन्योलमा देखिएका छन्।

    सरकारले अल्पकालीन सेयर लगानीकर्ताका लागि पूँजीगत लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्‍याएको छ। तर पूँजीगत लाभकर अन्तिम हुने अर्थ के हो भन्नेबारे स्पष्ट जानकारी नहुँदा बजारमा भ्रम फैलिएको छ।

    सरल भाषामा भन्नुपर्दा, सेयर बिक्री गर्दा भएको नाफामा एकपटक पूँजीगत लाभकर तिरेपछि सोही आम्दानीमा फेरि आयकर तिर्नु नपर्ने व्यवस्था नै ‘अन्तिम कर’ हो।

    उदाहरणका लागि, कुनै लगानीकर्ताले ५ लाख रुपैयाँमा किनेको सेयर ६ लाख रुपैयाँमा बिक्री गरे भने उनको नाफा १ लाख रुपैयाँ हुन्छ। यदि उक्त सेयर एक वर्षभन्दा कम अवधिमा बिक्री गरिएको हो भने १० प्रतिशतका दरले १० हजार रुपैयाँ पूँजीगत लाभकर काटिन्छ। त्यसपछि बाँकी ९० हजार रुपैयाँ लगानीकर्ताको हातमा रहन्छ र यही नाफामा फेरि आयकर लाग्दैन।

    यस्तै, कुनै व्यक्तिले जागिरबाट १० लाख रुपैयाँ र सेयर कारोबारबाट ५ लाख रुपैयाँ आम्दानी गरेको अवस्थामा सेयरबाट भएको ५ लाख रुपैयाँ नाफामा पूँजीगत लाभकर तिरिसकेपछि त्यसलाई फेरि आयकर गणनामा समावेश गरिँदैन। अर्थात् सेयरबाट भएको आम्दानीमा दोहोरो कर लाग्दैन।

    यहाँसम्म कि कुनै लगानीकर्ताले वर्षभरि सेयर कारोबारबाट मात्रै २० लाख रुपैयाँ नाफा कमाएको अवस्थामा पनि बिक्रीका बेला काटिएको पूँजीगत लाभकरबाहेक थप आयकर तिर्नुपर्ने व्यवस्था छैन।

    लगानीकर्तामा अन्योल बढ्नुको मुख्य कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा ‘अन्तिम कर’ भने पनि आर्थिक विधेयकमा त्यो शब्द स्पष्ट रूपमा नदेखिनु हो। यही कारण बजारमा भविष्यमा थप कर लाग्न सक्छ कि भन्ने आशंका पैदा भएको थियो।

    तर आन्तरिक राजस्व विभागले भने सेयर कारोबारबाट भएको नाफामा पूँजीगत लाभकर तिरेपछि थप कर नलाग्ने स्पष्ट पारेको छ।यसरी हेर्दा सरकारले नयाँ कर लगाएको होइन, बरु करको दर बढाएको हो। तर पूँजीगत लाभकर तिरेपछि सोही आम्दानीमा फेरि आयकर तिर्नु नपर्ने व्यवस्था भने यथावत् रहेको छ।

    त्यसैले ‘अन्तिम पूँजीगत लाभकर’ भन्नाले सेयर लगानीकर्ताले एउटै आम्दानीमा दोहोरो कर तिर्नु नपर्ने व्यवस्था बुझ्नुपर्ने विज्ञहरूको सुझाव छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend