रुपन्देही । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई १२ थान डस्टबिन हस्तान्तरण गरेको छ।
बैंकको शाखा कार्यालय सालझण्डीमार्फत आयोजित कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापालाई डस्टबिन हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा प्रधानाध्यापक थापाले स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण विषय भएको उल्लेख गर्दै वितरण गरिएका डस्टबिनले विद्यार्थीमा सरसफाइको संस्कार विकास गर्न, वातावरणीय सचेतना बढाउन तथा विद्यालय परिसर स्वच्छ राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयहरूमा आधारभूत सरसफाइ सामग्रीको अभाव रहने भएकाले यस्ता कार्यक्रमले विद्यालयको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताए।
स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसरले विद्यार्थीहरूको सिकाइ उपलब्धि, अनुशासन तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै प्रधानाध्यापक थापाले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको पहलको प्रशंसा गरेका थिए।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कामना सेवा विकास बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

