काठमाडौं । फिफा विश्वकप फुटबल अवलोकनका लागि मेक्सिको प्रस्थान गर्न लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकिएको छ।
मंगलबार बिहान मेक्सिको जान विमानस्थल पुगेका उनीहरूलाई अध्यागमन विभागले विदेश यात्रा गर्न अनुमति नदिई फर्काएको हो। अध्यागमन विभागका निर्देशक टिकाराम ढकाल का अनुसार दुवै जनाको राहदानी ‘वाच लिस्ट’मा रहेकाले अध्यागमन कार्यालयले उनीहरूलाई ‘अफलोड’ गरेको हो।
‘उहाँहरू मेक्सिको जान खोज्नुभएको रहेछ, तर राहदानी वाच लिस्टमा भएकाले हामीले अफलोड गरेका छौँ,’ निर्देशक ढकालले जानकारी दिए।
जानकारीअनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले नेम्वाङ र राईको राहदानी वाच लिस्टमा राखेको थियो। सोही आधारमा उनीहरूको विदेश यात्रा रोकिएको बताइएको छ।

