काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)माथि उठेका गम्भीर अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरी छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपसमिति गठन गरेको छ ।
राखेप कार्यकारी समितिको शुक्रबार बसेको ५९औँ बैठकले राखेप उपाध्यक्ष विशाल श्रेष्ठको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको हो । राखेपका सदस्य–सचिव रामचरित्र मेहताका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।
उपसमितिमा कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ, चार्टर एकाउन्टेन्ट प्रकाश अधिकारी र शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सदस्य छन् । राखेप खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीलाई उपसमितिको सचिवको जिम्मेवारी दिइएको छ ।
एन्फाविरुद्ध राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होमगेम बिक्री, राखेपको निर्देशन अवज्ञा, अवैध भत्ता वितरण, महिला साफ गेम २०२४ मा होटल दररेटमा कमिसन तथा भ्रष्टाचार, स्वीकृतिबिना वैदेशिक भ्रमण, अनुदान रकम दुरुपयोग र अनावश्यक नियुक्ति गरेको आरोपसहित उजुरी परेको राखेपले जनाएको छ ।
यस्तै, विभिन्न टेन्डर प्रचलित कानुनबमोजिम नगरेको, प्रतियोगिताहरूमा मार्केटिङ, डिजिटल, ब्रोडकास्टिङ र टिकटिङ राइट्स दिँदा अनियमितता भएको लगायतका विषय पनि उजुरीमा समेटिएका छन् ।
खेलकुद मन्त्रालयमा उजुरी परेपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा राखेपले छानबिन प्रक्रिया अघि बढाएको हो । उपसमिति संयोजक श्रेष्ठ केही दिनअघि मात्रै राखेप उपाध्यक्ष नियुक्त भएका थिए । उनी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपरसमेत हुन् ।

