नेपालभाषाका फिल्म तथा गीत–सङ्गीतको प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीमा आयोजित ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड–११४६’ को पाँचौँ संस्करणमा ‘लाखे आजु’ उत्कृष्ट फिल्म घोषित भएको छ। यसै फिल्मबाट कुशल निर्देशनको छाप छाडेका सुरेन्द्र तुलाधरले उत्कृष्ट निर्देशकको अवार्ड चुम्दा अभिनयको विधामा सुरज व्यञ्जनकार उत्कृष्ट अभिनेता र चर्चित नायिका आशिष्मा नकःमि उत्कृष्ट अभिनेत्री चुनिएका छन्।
सङ्गीततर्फको प्रतिस्पर्धामा मथुरा महर्जन उत्कृष्ट गायक र कविता जोशी उत्कृष्ट गायिका बन्न सफल भएका छन् भने दर्शकको मन जित्दै ‘येँया पुन्हि’ ले उत्कृष्ट म्युजिक भिडियोको उपाधि जितेको छ। समारोहको सबैभन्दा विशेष क्षणमा कीर्तिपुरका वरिष्ठ गायक तथा अनुसन्धानकर्ता रामकृष्ण दुवाललाई सङ्गीत तथा अनुसन्धानको क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको उच्च कदर गर्दै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको थियो।
यसै अवसरमा वरिष्ठ सङ्गीतकार जुगल डंगोललाई पेज थ्री सम्मान, जापान निवासी कारेन शाक्यलाई पेज थ्री हपाः अवार्ड तथा ‘आयला...’ गीत र ‘जय लाखे’ एनिमेसनलाई जुरी मेन्सन अवार्ड प्रदान गरिनुका साथै विभिन्न भिडियो फिल्मका निर्माताहरूलाई समेत सम्मानित गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र सभासद कुलभक्त शाक्यको विशेष आतिथ्यता रहेको यस कार्यक्रमले भोटिङ प्रणालीमार्फत अग्रज र नयाँ पुस्ताका कलाकारलाई एउटै मञ्चमा जोड्न सफल भएको अवार्डका निर्देशक दर्शनवीर शाक्यले बताए।

