काठमाडौँ । निर्माण व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवाले ठूलो बदमासी गरेको भेटिएको छ ।
१३ महिनाभित्र निर्माण सम्पन्न गर्नेभन्दै उनको कम्पनीले चोभारस्थित पुष्प तथा फलफूल थोक बजारको निर्माणको जिम्मा पाएका सिंहको कम्पनीले ९४ महिना बितिसक्दापनि सम्पन्न गरेको छैन् ।
२०७३ को असारमा सिहंको कम्पनी महादेव खिम्ती निर्माण सेवा, अनक कन्ट्रक्सन र बंगलादेशी कम्पनी साम्जोनामनि सहित ३ कम्पनीले संयुक्त रुपमा ठेक्का पारेका थिए ।
तर, निर्धारित समयमा निर्माण सम्पन्न गर्नुत कता हो कता ११ औँ पटक म्याद थपिदा समेत थोक बजार बनिसकेको छैन् । सीएनएन खबरले प्राप्त गरेको विवरण अनुसार धेरै सामग्री बिग्रिसकेका छन् । कतिपय उपकरणको प्रशिक्षण नै नगरि कवाडीमा जाने अवस्थामा रहेका छन् ।
अनि वल्र्ड बैंकले हात झिक्यो
विश्व बैंक अन्तरगतको कृषि तथा व्यापार आयोजना (प्याक्ट) को ३५ करोड ८७ लाख ६६ हजार ९ सय रुपैयाँमा अनुदानमा सरकारले २०७३ साल असोज ४ गते १३ महिनामा सकाउने गरी चोभारमा बहुतले थोक बजार निर्माणको सम्झौता गरेको थियो ।
तर, सिंहको बदमासीकै कारण १३ महिनामा जम्मा ५ प्रतिशत मात्र काम भयो । जसकारण ठेक्का सम्झौता अनुसार काम नभएको भन्दै वल्र्ड बैंकले २०७५ साल पुस ९ गते अनुदान फिर्ता भएको थियो ।
प्याक्टले २०७५ सालमा उक्त आयोजनाबाट हात झिकेपछि उक्त संरचना निर्माणको जिम्मा कृषि तथा पशुपन्छी मन्त्रालयले लिएको छ । समयमा नै निर्माण सम्पन्न नहुँदा मन्त्रालयमाथि दिनप्रतिदिन आर्थिक भार बढ्दै आएको छ ।
निर्माण व्यवसायी महासंघको अध्यक्षकै कम्पनीले १३ महिनाको काम ९ वर्षमा समेत पुरा नगरेपछि उनको आलोचना हुन थालेको छ । उनै अध्यक्ष सिंहले असोज १० गते पत्रकार सम्मेलन गर्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । सरकारले निर्माण सम्पन्न गरेको आयोजनको रकम भुक्तानी नदिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका सिंह आफैले भने सम्झौता अनुसारको काम पूरा गरेका छैनन् ।
११ पटक म्याद थप, ४० करोड पुग्यो लागत
१३ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार ठेक्का सम्झौता भएपछि हालसम्म ११ पटक म्याद थप भएको छ । निर्माण कम्पनीले विभिन्न बाहान बनाउँदै सम्झौता अनुसार काम नगरेपछि सरकारले अन्तिम पटक २०८१ भदौं मसान्तभित्र काम सम्पन्न गर्ने गरी २०८० चैत १४ गते ११ औँ पटक म्याद थप गरेको थियो ।
अन्तिम पटकका लागि भन्दै दिईएको समय सकिएको १ महिना भैसकेको छ । कृषि मन्त्रालयले सिहंलाई भदौ ३१ गते पत्र पठाउँदै कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । तर, ७ दिनको समयसिमा सकिँदा पनि सरकारले कालोसूचीमा राख्न आनाकानी गरिरहेको छ । जबकि सरकारले २०८० को चैत १४ गते नै सिंहको कम्पनीलाई ११ औँ पटक म्याद थपिएको भन्दै अर्काे पटक म्याद थप नगर्ने र कालोसूचिमा राख्ने र सार्वजनिक खरिद नियमावली (१३ औँ संशोधन), २०६४ को नियम १२० (क) को ५ र ६ बमोजिम भई जाने भनेको थियो ।
सम्झौता अनुसार काम सम्पन्न गर्न अन्तिम पटक थपिएको म्याद सक्दा पनि अझै करिब १३ प्रतिशत काम गर्न बाँकी छ । सरकारले दिएको समय सकिएपनि निर्माण कम्पनीले बाँकी रहेका कुनै पनि काम सुरु भएको छैन् । असोज ११ गते शुक्रबार सीएनएनकर्मी निर्माणस्थल पुग्दा त्यहाँको अवस्था सुनसान थियो ।
बाँकी रहेको १३ प्रतिशत काम सम्पन्न गर्नुपर्ने समयमा निर्माणस्थल नै सुनसान बन्द अझै तोकिएको समयमा उक्त काम सम्पन्न हुने विश्वास गर्ने वातावरण देखिएको थिएन ।
समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको सचिबालयले जनाएको छ । निर्माण सम्झौता गर्दा ३५ करोड रुपैयाँमा गर्ने भनिएकोमा समयसँगै लागत बढ्दा सरकारलाई ठूलो नोक्सानी भएको छ ।
कारवाही गर्ने मन्त्री अधिकारीको चेतावनी
भदौ २२ गते चोभारमा निर्माणधिन पुष्प तथा फलफूल थोक बजारको स्थलगत अवलोकनमा पुगेका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।
निर्माण सुरु भएको ९ वर्ष पुरा हुँदासमेत सम्पन्न भएको गुनासो आएपछि स्थलगत अवलोकन गर्न पुगेकामन्त्री अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका थिए ।
सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही हुने र गर्ने जनाउँदै मन्त्री अधिकारीले तत्काल भवनको बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।
चोभार रहेको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुबै लाभान्वित हुने जनाउँदै मन्त्री अधिकारीले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।

