काठमाडौँ । देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज (सोमबार) बजेट सार्वजनिक गर्दैछन्। कानुनी व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन्। प्रदेश सरकारहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा सुशासनलाई बजेटका मुख्य प्राथमिकताका रूपमा अघि सारेका छन्।
प्रदेश सरकारहरू संघीय बजेटसँग तालमेल गर्दै स्थानीय आवश्यकता र विकासका प्राथमिकताका आधारमा कार्यक्रम तथा योजनाहरू समेट्ने तयारीमा छन्। आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि, रोजगार सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याउन लागिएको जनाइएको छ।
यसअघि संघीय सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरिसकेको छ। प्रदेश बजेट सार्वजनिक भएसँगै आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका कार्यक्रमहरूको स्पष्ट खाका सार्वजनिक हुने अपेक्षा गरिएको छ।

