काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति भएको छ।
आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी राजधानीको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विविध विषयमा छलफल गरेको हो।
भेटका क्रममा एसएसपी काफ्लेले ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन र परिणाममुखी बनाउन नाडा र ट्राफिक प्रहरीबीच सृजनात्मक सहकार्य आवश्यक रहेको बताए। उनले पहाडी क्षेत्रका लागि उपयुक्त ठूला क्षमताका मोटरसाइकलहरू समेत काठमाडौंका सडकमा अत्यधिक चल्ने गरेको उल्लेख गर्दै स्कुटरको तुलनामा मोटरसाइकल दुर्घटनाको दर बढी रहेको तथ्य प्रस्तुत गरे।
काफ्लेले राजधानीमा ट्राफिक सचेतनामूलक अभियान सञ्चालन गर्न नाडाले अग्रसरता लिनुपर्नेमा जोड दिँदै कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि समेत पहल गर्न आग्रह गरे। साथै, नयाँ सवारीसाधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरका सेवाग्राही तथा पहिलोपटक चालक अनुमतिपत्र (लाइसेन्स) लिने व्यक्तिहरूलाई ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको आधारभूत प्रशिक्षण दिने व्यवस्था गर्न सके ट्राफिक अनुशासन र सडक सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
छलफलका क्रममा नाडा अध्यक्ष उप्रेतीले विगतदेखि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यलाई थप सुदृढ बनाइने बताए। उनले नाडाले आफ्नो ५०औँ वार्षिक साधारणसभा तथा स्वर्ण जयन्तीको अवसरमा असार १३ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रमसहित विशेष सप्ताहव्यापी उत्सव आयोजना गर्न लागेको जानकारी दिए।
उक्त कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आवश्यक सहयोगका लागि आग्रह गरे। साथै, नाडाले ट्राफिक जनचेतना अभिवृद्धिका लागि स्टिकर अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी समेत दिए।
कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवाललगायतको उपस्थिति रहेको थियो।

