काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै ३–० को अग्रता बनाएको छ। अर्जेन्टिनाका कप्तान Lionel Messi ले ह्याट्रिक पूरा गर्दै टोलीको जित लगभग सुनिश्चित गरेका छन्।
अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत भइरहेको खेलमा मेसीले पहिलो गोल १७औँ मिनेटमा गरेका थिए। त्यसपछि उनले ६०औँ मिनेटमा दोस्रो गोल थप्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।
खेलको ७६औँ मिनेटमा अर्को गोल गर्दै मेसीले व्यक्तिगत ह्याट्रिक पूरा गरे। उनको उत्कृष्ट प्रदर्शनका कारण अर्जेन्टिना ३–० ले अघि रहेको छ भने अल्जेरियाले खेलमा फर्कने कुनै अवसर सिर्जना गर्न सकेको छैन।
विश्वकपको मुख्य उपाधि दाबेदार मानिएको अर्जेन्टिनाका लागि यो खेलमा मेसी नायकका रूपमा उदाएका छन्। ३९ वर्षीय कप्तान मेसीको यो छैटौँ विश्वकप यात्रा हो, जसले उनलाई विश्व फुटबल इतिहासका सर्वाधिक सफल खेलाडीमध्ये एकका रूपमा थप स्थापित गरेको छ।
साविक विश्वविजेता अर्जेन्टिना यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। मेसीको ह्याट्रिकले टोलीको आत्मविश्वास अझ मजबुत बनाएको छ भने समर्थकहरूलाई अर्को विश्वकप सफलता हासिल गर्ने आशा जगाएको छ।

