२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • ललितपुर महानगरको महत्वाकांक्षी योजना : सिस्नेरीको...

ललितपुर महानगरको महत्वाकांक्षी योजना : सिस्नेरीको पानीदेखि भर्टिकल पार्किङ र स्मार्ट ट्राफिकसम्म

ललितपुर महानगरको महत्वाकांक्षी योजना : सिस्नेरीको पानीदेखि भर्टिकल पार्किङ र स्मार्ट ट्राफिकसम्म

शुक्रवार, आषाढ ५ २०८३०४:५१
शुक्रवार, आषाढ ५ २०८३०४:५१
  • images

    काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्वाधार विकास, सम्पदा संरक्षण, ट्राफिक व्यवस्थापन, खानेपानी, सुशासन तथा डिजिटल सेवालाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    नगर प्रमुख चिरीबाबु महर्जनले शुक्रबार सम्पन्न नवौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरलाई प्रविधिमैत्री, सम्पदामैत्री र नागरिकमैत्री शहरका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ।

    महानगरले आगामी वर्ष सिस्नेरी खोलाको पानी ललितपुर भित्र्याउने प्रक्रिया अघि बढाउने, परम्परागत पानीका मुहान संरक्षण गर्ने तथा भूमिगत जल पुनर्भरणलाई अभियानकै रूपमा सञ्चालन गर्ने नीति लिएको छ। खानेपानी व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय स्रोतको संरक्षण र उपयोगमा समेत जोड दिइएको छ।

    यातायात व्यवस्थापनतर्फ महानगरले भर्टिकल पार्किङ निर्माणको अवधारणा अघि सारेको छ। साथै इन्टेलिजेन्ट ट्राफिक लाइट प्रणाली विस्तार, साइकल लेन व्यवस्थापन, लगनखेल बसपार्कको स्तरोन्नति तथा नयाँ नगरस्तरीय यातायात गुरुयोजना तयार गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ।

    सडक निर्माणमा बिटुमिनमा निर्भरता घटाउँदै सम्भाव्यता भएका क्षेत्रमा ढलान सडक र ब्लक छाप्ने प्रविधिलाई प्राथमिकता दिने नीति पनि महानगरले लिएको छ। सडक मर्मतसम्भारलाई थप प्रभावकारी बनाउन ‘परफर्मेन्स बेस्ड कन्ट्र्याक्ट’ प्रणाली लागू गरिने उल्लेख छ।

    सम्पदा संरक्षणतर्फ ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको डिजिटल अभिलेखीकरण, क्यूआर कोडमार्फत सम्पदाबारे जानकारी उपलब्ध गराउने तथा सम्पदा अतिक्रमण नियन्त्रणलाई थप कडा बनाउने योजना सार्वजनिक गरिएको छ।

    महानगरले स्मार्ट सिटी अवधारणालाई थप विस्तार गर्दै स्मार्ट स्ट्रिट लाइट, सिसिटिभी, डिजिटल रोड इन्भेन्टरी, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली तथा अनलाइन सेवा प्रणालीलाई सुदृढ बनाउने जनाएको छ। साथै सबै वडामा स्मार्ट सार्वजनिक शौचालय निर्माणलाई निरन्तरता दिने नीति लिइएको छ।

    नगर प्रमुख महर्जनले विगत वर्षहरूमा महानगरले सूचना प्रविधि, वित्तीय व्यवस्थापन, सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेको दाबी गर्दै आगामी वर्ष ती उपलब्धिलाई थप संस्थागत गरिने बताए। महानगरले स्थानीय सरकार कार्यसम्पादन मूल्यांकन, वित्तीय जोखिम मूल्यांकन तथा डिजिटल सेवा प्रवाहमा उत्कृष्ट नतिजा हासिल गरेको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    महानगरले आगामी वर्ष विकास निर्माणसँगै सम्पदा, वातावरण, यातायात र नागरिक सेवामा केन्द्रित कार्यक्रममार्फत ललितपुरलाई आधुनिक तथा व्यवस्थित शहरका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend