२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट...

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

आइतवार, आषाढ ७ २०८३१०:३०
आइतवार, आषाढ ७ २०८३१०:३०
  • images

    काठमाडौँ । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी कोशिश श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिग (IFL) मा दिल्ली टिमको प्रतिनिधित्व गर्ने भएका छन्। भारतको पहिलो फ्रेन्चाइजमा आधारित एमएमए प्रतियोगिताका रूपमा परिचित IFL दक्षिण एशियामै तीव्र रूपमा लोकप्रिय बन्दै गएको कम्ब्याट स्पोर्ट्स प्लेटफर्म हो।

    इन्डियन प्रिमियर लिग (IPL), प्रो कबड्डी लिग र इन्डियन सुपर लिग (ISL) जस्ता सफल फ्रेन्चाइज मोडेलमा आधारित प्रतियोगिताहरूबाट प्रेरित IFL ले विभिन्न शहरका टिममार्फत यस क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई एउटै मञ्चमा ल्याएको छ। यसले एमएमए खेललाई व्यावसायिक र दिगो बनाउने उद्देश्यसहित नयाँ अवसर सिर्जना गरिरहेको छ।

    हाल १-० को व्यावसायिक एमएमए रेकर्ड कायम गरेका श्रेष्ठले दिल्ली टिमबाट प्रतिस्पर्धा गर्नेछन्। उनले मुम्बई फ्रेन्चाइजका अनुभवी फाइटर प्रचण्ड जामिल्यासँग भिड्नेछन्, जसको एमेच्योर रेकर्ड १४-४ रहेको छ। दिल्ली र मुम्बईबीचको यो भिडन्त प्रतियोगिताकै प्रमुख आकर्षणमध्ये एक हुने अपेक्षा गरिएको छ।

    अन्तर्राष्ट्रिय फाइट लिगले छोटो समयमै महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आफ्ना प्रतियोगिताहरूलाई विश्वकै अग्रणी कम्ब्याट स्पोर्ट्स डिजिटल प्लेटफर्म UFC फाइट पासमार्फत विश्वभर प्रसारण गराउन सफल भएको छ। लिगले सन् २०२६ भित्र छवटा ठूला प्रतियोगिता आयोजना गर्ने महत्वकांक्षी योजना बनाएको छ, जसले यस क्षेत्रको एमएमए खेललाई अझ उचाइमा पुर्यािउने अपेक्षा गरिएको छ।

    अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरूको पहिचान बढिरहेको सन्दर्भमा, दिल्ली फ्रेन्चाइजमा श्रेष्ठको सहभागितालाई पनि अर्को महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ। यसले व्यावसायिक कम्ब्याट स्पोर्ट्समा नेपाली प्रतिभाको बलियो उपस्थिति देखाउनुका साथै नेपालले उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न सक्ने सम्भावनालाई पनि उजागर गरेको छ।

    दक्षिण एशियाभरी नै मिक्स्ड मार्शल आर्ट्सको लोकप्रियता बढिरहेका बेला IFL मा कोशिश श्रेष्ठको सहभागिताले नेपाली फाइटिङ प्रतिभालाई विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend