काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत नेपाल लाइफले हिमालय स्पोर्ट्स टिभी तथा डीगो (DIGO) एपमार्फत हुने विश्वकप प्रसारणमा साझेदारी गर्ने भएको हो।
विश्वकै सर्वाधिक लोकप्रिय खेल प्रतियोगिता मानिने फिफा विश्वकप २०२६ को प्रसारणसँग जोडिएर नेपाल लाइफले खेलप्रेमी दर्शकमाझ आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
सहकार्यबारे प्रतिक्रिया दिँदै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकपजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय खेल महोत्सवसँग सहकार्य गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं। विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ। यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो।”
पराजुलीले यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको रोमाञ्च अझ नजिकबाट अनुभव गराउन मद्दत पुग्ने तथा नेपाल लाइफको ब्राण्डलाई देशभरका खेलप्रेमीहरूसँग थप प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल लाइफ र हिमालय स्पोर्ट्सबीचको यो सहकार्यले विश्वकप प्रसारणलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। साथै, खेलकुदमार्फत दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्दै ब्राण्ड प्रवर्द्धन गर्ने रणनीतिलाई समेत बल पुग्ने कम्पनीको विश्वास छ।

