काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। बैंकले असार ७ गते (२१ जुन २०२६) सातै प्रदेशमा योग कार्यक्रम सञ्चालन गर्दै कर्मचारीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेको जनाएको छ।
बैंकका अनुसार आयोजित कार्यक्रमहरूमा कर्मचारीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै योग अभ्यासमार्फत शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्य प्रवर्द्धनसम्बन्धी गतिविधिमा सहभागी भएका थिए। कार्यक्रमको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नुका साथै कर्मचारीहरूको स्वास्थ्य र कार्यक्षमता बढाउनु रहेको बैंकले जनाएको छ।
काठमाडौंमा आयोजित मुख्य कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीसहित वरिष्ठ पदाधिकारीहरू तथा १५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा योग अभ्याससँगै स्वस्थ जीवनशैली, मानसिक सन्तुलन र कार्यस्थलमा सकारात्मक ऊर्जा कायम राख्न योगको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो।
बैंकले यस्ता कार्यक्रमले कर्मचारीहरूबीच आपसी सहकार्य, सक्रियता र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै कर्मचारीहरूको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व अभिवृद्धि गर्न योग प्रभावकारी माध्यम बन्ने बैंकको धारणा छ।
नेपाल एसबिआई बैंकले स्वस्थ र जीवन्त कार्यस्थल संस्कृतिको विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य प्रवर्द्धनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंकका हाल देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

