काठमाडौँ । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण निरन्तर बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मात्रै रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म ५० किलोवाटदेखि २०१ किलोवाट क्षमतासम्मका विभिन्न मोडलका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन् । यस अवधिमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका सवारीसाधन आयात भएका छन्, जसले नेपाली उपभोक्तामाझ मध्यम क्षमताका ईभीको माग उच्च रहेको संकेत गरेको छ ।
विभागका अनुसार ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारी आयात हुँदा त्यसबापत पाँच अर्ब ६५ करोड खर्च भएको छ । त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३५७ वटा सवारीसाधन आयात गरिएका छन्, जसको कुल मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रहेको छ ।
सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै आएको, पेट्रोलियम पदार्थको बढ्दो मूल्य, सञ्चालन खर्च कम हुनुका साथै वातावरणमैत्री विकल्पका रूपमा ईभीलाई हेरिन थालेपछि बजारमा यसको माग तीव्र रूपमा बढिरहेको व्यवसायीहरू बताउँछन् ।
पछिल्ला वर्षहरूमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय गाडी नेपाली बजारमा भित्रिन थालेपछि उपभोक्ताको रोजाइ पनि ईभीतर्फ मोडिएको छ । चार्जिङ पूर्वाधार विस्तार, बैंक तथा वित्तीय संस्थाबाट सहज कर्जा सुविधा र सरकारी नीतिगत सहुलियतले समेत विद्युतीय सवारीको प्रयोगलाई थप टेवा पुर्याएको छ ।
नेपालमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन आयातमा निर्भरता घटाउन, विदेशी मुद्रा बचत गर्न तथा कार्बन उत्सर्जन न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । हालको आयात तथ्यांकले नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनले क्रमशः आफ्नो वर्चस्व स्थापित गर्दै गएको संकेत गरेको छ ।

