२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • ललितपुर महानगरको बजेट ७ अर्ब ४८...

ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड, स्मार्ट सेवा, सम्पदा संरक्षण र पूर्वाधार विकासमा जोड

ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड, स्मार्ट सेवा, सम्पदा संरक्षण र पूर्वाधार विकासमा जोड

बुधवार, आषाढ १० २०८३०५:१४
बुधवार, आषाढ १० २०८३०५:१४
  • images

    काठमाडौँ। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै ‘ललितपुरको समृद्धि र सुशासनको आधारः सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने मूल नारालाई केन्द्रमा राखेर बजेट ल्याइएको बताएकी छन्।

    महानगरले चालु आर्थिक वर्षको तुलनामा झिनो वृद्धि गर्दै आगामी वर्षका लागि बजेट विनियोजन गरेको हो। कुल बजेटमध्ये ३ अर्ब २५ करोड १८ लाख रुपैयाँ चालु खर्चतर्फ र ४ अर्ब २३ करोड ६९ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ छुट्याइएको छ। चालु खर्चमा कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता तथा प्रशासनिक दायित्व बढेकाले वृद्धि भएको जनाइएको छ भने संघीय र प्रदेश सरकारबाट पुँजीगत अनुदान घटेकाले विकास खर्चमा केही कटौती गरिएको छ।

    महानगरले आगामी वर्षका लागि सुशासन, दिगो पूर्वाधार, सम्पदा संरक्षण, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, युवा तथा खेलकुद विकास, उद्यमशीलता प्रवर्द्धन र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ।

    बजेटमा नगर गौरवका आयोजनाका लागि १० करोड रुपैयाँ, बहुवर्षीय योजनाका लागि ५० करोड रुपैयाँ, नगरस्तरीय योजनाका लागि ४८ करोड ४९ लाख रुपैयाँ तथा विभिन्न क्षेत्रगत विकास कार्यक्रमका लागि ८४ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै वडा कार्यालयहरूका लागि १ अर्ब १ करोड रुपैयाँ बजेट सीमा कायम गरिएको छ।

    महानगरले स्वास्थ्य तथा सामाजिक सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ। स्वास्थ्य बीमा कार्यक्रमका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको छ। साथै विपन्न नागरिक उपचार सहायता कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

    सम्पदा संरक्षण र पर्यटन विकासतर्फ ‘वर्ल्ड क्राफ्ट सिटी’ कार्यक्रम, सम्पदा मार्गमा निजी संरचनाको पुनर्निर्माण, ऐतिहासिक शारदा पुस्तकालयको पुनः सञ्चालन तथा सम्पदा क्षेत्रमा ‘ई–शटल बस’ सञ्चालनका कार्यक्रम बजेटमा समेटिएका छन्।

    फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई पनि विशेष प्राथमिकता दिइएको छ। फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधि, इन्सिनरेटर प्लान्ट, ट्रान्सफर स्टेशन स्तरोन्नति तथा ‘एलएमसी गार्बेज एप’ सञ्चालनलाई निरन्तरता दिइने भएको छ।

    राजस्व व्यवस्थापनतर्फ महानगरले आगामी वर्ष ३ अर्ब ३५ करोड रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको छ। समयमै सम्पत्ति कर र भूमिकर बुझाउने करदातालाई १० प्रतिशत छुट, महिला, दलित र अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित व्यवसायलाई ५० प्रतिशत छुट तथा व्यवसाय नवीकरणमा विशेष सहुलियतको व्यवस्था कायम गरिएको छ।

    महानगरले आगामी आर्थिक वर्षमा स्मार्ट सेवा प्रवाह, सम्पदा संरक्षण, हरित विकास र नागरिकमैत्री प्रशासनमार्फत ललितपुरलाई सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध शहरका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend