काठमाडौं । FIFA ले All Nepal Football Association (एन्फा) लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको हो। यससँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ।
निलम्बन अवधिभर एन्फाका राष्ट्रिय टोली तथा नेपाली क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। साथै, एन्फासँग आबद्ध कुनै पनि पदाधिकारी, सदस्य वा प्रतिनिधिले फिफा तथा Asian Football Confederation द्वारा सञ्चालन हुने विकास कार्यक्रम, तालिम र प्रशिक्षणमा सहभागी हुन वा त्यसबाट लाभ लिन पाउने छैनन्।
यस निर्णयका कारण नेपालले फिफा र एएफसीबाट प्राप्त गर्दै आएको आर्थिक सहायता तथा विकाससम्बन्धी कार्यक्रमहरू पनि तत्कालका लागि प्रभावित हुने भएका छन्। राष्ट्रिय टोलीदेखि क्लब स्तरसम्मका नेपाली फुटबल गतिविधिमा यसको प्रत्यक्ष असर पर्ने देखिएको छ।
फिफाले अर्को फिफा कंग्रेस बस्नुअघि नै आवश्यक अवस्था पूरा भएको ठहर गरेमा फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले जुनसुकै समयमा निलम्बन फुकुवा गर्न सक्ने पनि जनाएको छ।
यससँगै नेपालको फुटबल प्रशासन र अन्तर्राष्ट्रिय सहभागितामा ठूलो असर पर्ने भएको छ भने एन्फाले निलम्बन फुकुवाका लागि आवश्यक प्रक्रिया र सुधारका कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको छ।

