काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको छ। मतदान सम्पन्न भएपछि रास्वपा निर्वाचन आयोगले उक्त जानकारी दिएको हो।
निर्वाचन आयोगका अनुसार अब विदेशस्थित प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्नेछन्। त्यसपछि मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गरिने जनाइएको छ।
केन्द्रीय सदस्यका लागि ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्येबाट ९९ जना निर्वाचित हुनेछन्। रास्वपाको महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ।
यता, पार्टीका पदाधिकारी चयन भने निर्वाचनभन्दा सर्वसम्मतिबाट गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। सभापति रवि लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यहरूको सूचीलाई आधार बनाएर सहमतिमै पदाधिकारी चयन गर्ने तयारी गरेको बताइएको छ।
महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भए पनि केन्द्रीय सदस्य निर्वाचनमा अपेक्षाभन्दा कम मत खसेको छ। धेरै प्रतिनिधि मतदानपछि घर फर्किसकेकाले पदाधिकारी निर्वाचन गराउँदा पर्याप्त मतदाता उपस्थित नहुने अवस्था देखिएको नेताहरूको भनाइ छ।
पार्टीका एक नेताका अनुसार पदाधिकारीमा निर्वाचन गराउनुको सट्टा सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने सम्भावना बलियो बनेको छ। "केन्द्रीय सदस्यमा निर्वाचित हुने अनुहार हेरेर पदाधिकारी सर्वसम्मतिबाट चयन हुन सक्छ," उनले बताए।
यसको संकेत पदाधिकारीका आकांक्षीहरूको चुनावी गतिविधिबाट पनि देखिएको छ। उपसभापतिमा डा. स्वर्णिम वाग्ले, समीक्षा बास्कोटा, लिमा अधिकारी, इन्दिरा राना मगर तथा प्रतिभा रावललगायतले दाबी गरेका छन् भने महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, मनीष झा, विपिन आचार्य, दीपक बोहोरा र सोबिता गौतम आकांक्षी छन्। तर, सर्वसम्मतिको सम्भावना बढेपछि अधिकांश आकांक्षीले मत माग्ने अभियानलाई तीव्र बनाएका छैनन्।
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुने व्यवस्था छ। सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
पार्टीभित्र विभिन्न समूह र एकीकरण प्रक्रियाबाट आएका नेताहरूलाई समेट्ने गरी पदाधिकारी चयन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्। यसक्रममा प्रधानमन्त्री वालेन्द्र शाह समूहबाट आएका केही नेताहरूलाई सभापति लामिछानेले मनोनयनमार्फत केन्द्रीय समिति तथा पदाधिकारीमा समेट्ने तयारी गरेको स्रोतको दाबी छ। वरिष्ठ नेता पदमा प्रधानमन्त्री वालेन्द्र शाहलाई निरन्तरता दिने चर्चा पनि पार्टीभित्र छ।
त्यस्तै भूपदेव शाह, सुनिल लम्साल र गृहमन्त्री सुदन गुरुङलगायत नेताहरू केन्द्रीय सदस्य निर्वाचनमा सहभागी भएका छैनन्। उनीहरूलाई पनि सभापतिले मनोनयनमार्फत नेतृत्वमा ल्याउने तयारी गरेको बताइएको छ।
पार्टी विधानअनुसार दुई उपसभापति (एक महिला अनिवार्य), एक महामन्त्री र तीन सहमहामन्त्री निर्वाचनबाट चयन हुने व्यवस्था भए पनि अहिले सर्वसम्मतिको विकल्पमा जोड दिइएको छ। केन्द्रीय सदस्य निर्वाचनमा मतदान गरेका प्रतिनिधिले नै दोस्रो चरणमा पदाधिकारीका लागि पनि मतदान गर्ने व्यवस्था रहेको छ।
महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भए पनि केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत मात्रै खसेपछि पदाधिकारी निर्वाचन गराउन आवश्यक सहभागिता र प्रतिस्पर्धाको वातावरण कमजोर हुने विश्लेषण गरिएको छ। यही कारण रास्वपाले आन्तरिक सहमतिको आधारमा पदाधिकारी चयन गर्ने तयारीलाई अन्तिम रूप दिन थालेको बुझिएको छ।

