काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनालले पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने घोषणा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै खनालले पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई थप सशक्त बनाउन सहमतिको वातावरण निर्माण गर्ने उद्देश्यले उम्मेदवारीको दाबी फिर्ता लिएको बताएका छन्।
उनले लेखेका छन्, सहमतिको चाहनालाई सम्मान गर्दै, पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु। यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु।
खनालले आफू निर्वाचनको प्रतिस्पर्धाबाट पछि हटे पनि आगामी दिनमा पार्टीलाई थप बलियो र सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

