काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बाँकी पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ।
पार्टी सभापति पदमा रवि लामिछाने र खुला उपसभापति पदमा स्वर्णिम वाग्ले यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्। आज भने महिला उपसभापति, महामन्त्री, सहमहामन्त्री (खुला) र महिला सहमहामन्त्रीसहित पाँच पदका लागि मतदान हुनेछ।
महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्री पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनीष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्। प्रारम्भिक उम्मेदवार सूचीमा रहेका जगदीश खरेलले भने सहमति र एकताका लागि भन्दै उम्मेदवारी फिर्ता लिएका छन्।
सहमहामन्त्री (खुला) पदका लागि रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्रीले उम्मेदवारी दिएका छन्।
महिला सहमहामन्त्री पदमा जुली यादव, जमुना कुमारी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा हुनेछ।
छ दिनदेखि चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन अन्तिम चरणमा पुगेको छ। पदाधिकारी निर्वाचनअघि नै अधिकांश प्रतिनिधि घर फर्किसकेका छन् भने बाँकी प्रतिनिधिले आज मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्।

