काठमाडौँ । लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित बगैंचा खेल मैदानमा सम्पन्न दोस्रो भोटेओडार भेट्रान्स कप २०८३ को उपाधि राईनास–११ ले जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भोटेओडार युथ क्लब (BYC) लाई पराजित गर्दै राईनास–११ च्याम्पियन बनेको हो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको राईनास–११ ले उपाधि भिडन्तमा पनि सशक्त खेल प्रस्तुत गर्दै ट्रफी आफ्नो पक्षमा पार्न सफल भयो।
प्रतियोगिताको फाइनल खेल हेर्न बगैंचा खेल मैदानमा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दर्शकहरूको उत्साहपूर्ण समर्थनले खेललाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाएको आयोजकले जनाएको छ।
भेट्रान्स फुटबलको विकास, खेलाडीबीच आपसी सम्बन्ध विस्तार तथा स्थानीय स्तरमा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकको भनाइ छ।

