काठमाडौं । आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा अन्तर–प्रदेश फुटसल प्रतियोगिता आयोजना गरेको छ।
असार २८ गते काठमाडौंस्थित धन्वन्तरी फुटसल मैदानमा सम्पन्न प्रतियोगितामा बैंकका सातै प्रदेश कार्यालय तथा प्रधान कार्यालयका गरी १५० भन्दा बढी कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार प्रतियोगिताले कर्मचारीबीच आपसी समन्वय, सहकार्य तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। कार्यस्थल बाहिर पनि टीमवर्क, आपसी सम्बन्ध र सकारात्मक ऊर्जा विकास गर्न यस्ता खेलकुद गतिविधि प्रभावकारी हुने विश्वास बैंकले व्यक्त गरेको छ।
प्रतियोगिताअन्तर्गत बैंकको व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेल आयोजना गरिएको थियो भने पुरुषतर्फ प्रदेश कार्यालय तथा केन्द्रीय कार्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठसहित अन्य वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत तिवारी र नायब प्रमुख कार्यकारी अधिकृत आनन्दले विभिन्न विधाका विजेता तथा सहभागी टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
समापन मन्तव्यका क्रममा प्रमुख कार्यकारी अधिकृत तिवारीले देशभरका कर्मचारीहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारीबीचको सहकार्य, संलग्नता र स्वस्थ संस्थागत संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

