काठमाडौं । सेयर बजार लगातार सातौं कारोबार दिन पनि ओरालो लाग्दै ६ महिनाकै तल्लो बिन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेर २,६०८ अंकमा कायम भएको छ। यो स्तर गत पुस ९ यताकै न्यून हो। पुस ९ गते नेप्से २,५८५ अंकमा रहेको थियो।
गत साताका पाँचै कारोबार दिन बजार घटेको थियो भने यो साताको सुरुवाती दुई दिन पनि गिरावटमै टुंगिएको छ। अघिल्लो कारोबार दिन नेप्से १६.५४ अंकले घटेको थियो। बजार दिनभर नै रातो संकेतमा रहे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार भएका कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। सबै उपसूचकमा गिरावट देखिएको छ। बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक ०.०१ प्रतिशत, फाइनान्स १.०० प्रतिशत, होटल तथा पर्यटन ०.९३ प्रतिशत, जलविद्युत् १.४३ प्रतिशत, लगानी ०.७४ प्रतिशत, जीवन बीमा ०.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२० प्रतिशत, माइक्रोफाइनान्स ०.५६ प्रतिशत, निर्जीवन बीमा ०.६१ प्रतिशत, अन्य १.३१ प्रतिशत तथा व्यापार समूह १.७४ प्रतिशतले घटेका छन्।
नयाँ सूचीकृत स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्त १०.८० प्रतिशत र सिर्जनशील लघुवित्त ७.३९ प्रतिशतले उकालो लागेका छन्।
यता टक्सार पिखुवाखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशतले घटेको छ भने याम्बलिङ हाइड्रोपावर ८.२३ प्रतिशतले ओरालो लागेको छ। यी दुवै कम्पनीको सेयर मूल्य अघिल्लो दिनसम्म लगातार १५ प्रतिशतले बढिरहेको थियो। सूचीकृत भएपछि पहिलो पटक दुवै कम्पनीको मूल्य घटेको हो।
यस्तै सोपान फर्मास्युटिकल्स ५.९० प्रतिशत, श्रीनगर एग्रिटेक ५.४९ प्रतिशत र पियोर इनर्जी ५.४८ प्रतिशतले घटेका छन्।मंगलबार कारोबार रकमका आधारमा सिद्धार्थ बैंक, टक्सार पिखुवाखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र याम्बलिङ हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।

