काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण झन् रोमाञ्चक बन्दै गएको छ। अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) का अधिकांश समीकरण तय भइसकेका छन्। साबिक उपविजेता फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
फ्रान्सको जितमा कप्तान केलियन एमबाप्पेले दुई गोल गर्दा ब्राडली बारकोलाले एक गोल थपे। चार खेलमा ६ गोल पुर्याएका एमबाप्पे गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग संयुक्त अग्रस्थानमा छन्। अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेको सामना गर्नेछ।
यता, पाँच पटकको विश्वविजेता ब्राजिलले अन्तिम १६ मा नर्वेसँग प्रतिस्पर्धा गर्ने भएको छ। नर्वेले आइभरी कोस्टलाई २–१ ले हराउँदै इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो। टोलीको जितमा एर्लिङ हालान्डले निर्णायक गोल गरे।
विश्वकपमा पहिलो पटक खेलिरहेका हालान्डले प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा मेस्सी तथा एमबाप्पेलाई पछ्याइरहेका छन्। फ्रान्सका उस्मान डेम्बेले र ब्राजिलका भिनिसियस जुनियरले समान चार–चार गोल गरेका छन्।
यसैबीच, आयोजक मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। अब मेक्सिकोले इंग्ल्यान्ड र डीआर कंगोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
आज राति र भोलि बिहान विश्वकपमा थप तीन महत्वपूर्ण नकआउट खेल हुँदैछन्। नेपाली समयअनुसार राति ९स्४५ बजे इंग्ल्यान्ड र डीआर कंगो पहिलो पटक विश्वकपमा आमनेसामने हुनेछन्।
राति १:४५ बजे बेल्जियमले सेनेगलको चुनौती सामना गर्नेछ भने बिहान ५:४५ बजे आयोजक अमेरिका र बोस्निया एन्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुनेछ। विश्वकप अब निर्णायक मोडमा पुगेको छ र प्रत्येक खेलसँगै उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ।

