काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार सेबोन कार्यालयमा अध्यक्ष डा. भट्टसँग शिष्टाचार भेट गर्दै पुँजी बजारको विकास, विस्तार र सुधारका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो।
भेटका क्रममा अध्यक्ष डा. भट्टले नेपालको पुँजी बजारलाई पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताए। उनले सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका प्राथमिकताअनुसार पुँजी बजारको दिगो विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक पहल गरिने उल्लेख गरे।
उनका अनुसार नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ। बजारमा सुशासन, पारदर्शिता, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर सेबोन अघि बढ्ने उनले विश्वास व्यक्त गरे।
सो अवसरमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले डा. भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत र संरचनागत सुधारका लागि एसोसिएसनले रचनात्मक सुझाव र आवश्यक सहयोग उपलब्ध गराउँदै सहकार्य गर्ने प्रतिबद्धता जनाए।
भेटका क्रममा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजी बजारका लागि घोषणा गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल भएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनले डा. भट्टको नेतृत्वमा नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारलाई नयाँ गति दिने, लगानीकर्ताको विश्वास थप मजबुत बनाउने तथा नेपालको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

