काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि बिहीबार कार्यकक्षमै आक्रमण भएको छ। गाउँपालिकाका अनुसार बिहान करिब ११ बजे निर्माण कम्पनी किङफिसर कन्सट्रक्सनका सञ्चालक लालबहादुर तामाङसहित ६ जनाको समूहले बस्नेतमाथि हातपात गरेको हो।
गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले प्रमुख प्रशासकीय अधिकृतमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको दाबी गर्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई जानकारी गराइसकिएको बताइन्।
आक्रमणबाट घाइते भएका बस्नेतको टाउको, मुख, नाक तथा शरीरका अन्य भागमा चोट लागेको छ। उनको गाउँपालिकाकै अस्पतालमा उपचार भइरहेको उपाध्यक्ष सिलवालले जानकारी दिइन्।
घटनाका बेला प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अन्य दुई जना सेवाग्राही पनि उपस्थित रहेको जनाइएको छ। आक्रमणकारी समूहले ती सेवाग्राहीलाई बाहिर निस्किन लगाएर बस्नेतमाथि आक्रमण गरेको गाउँपालिकाले जनाएको छ।
घटनापछि गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले असुरक्षाको कारण देखाउँदै कामकाज ठप्प पारेका छन्। कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कानुनी कारबाही नभएसम्म नियमित सेवा सञ्चालन गर्न असमर्थ रहेको बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार गाउँपालिकाले एक निर्माण आयोजनासम्बन्धी बैंक ग्यारेन्टी माग गरेको विषयमा किङफिसर कन्सट्रक्सन र गाउँपालिकाबीच विवाद चलिरहेको थियो। सोही विषयमा कम्पनीले गाउँपालिकाविरुद्ध अन्तरिम आदेश माग गर्दै चितवन जिल्ला अदालतमा निवेदन दिएको भए पनि अदालतले बुधबार उक्त माग अस्वीकार गरेको थियो।
घटनाबारे चितवन जिल्ला प्रहरी कार्यालयले आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।

