काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (ABF) द्वारा प्रदान गरिने होलसेल बैंकिङ्ग अवार्ड २०२६ र रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
बैंकले होलसेल बैंकिङ्गतर्फ ‘Nepal Domestic Liquidity Management Bank of the Year’ र ‘Nepal Domestic Trade Finance Bank of the Year’ तथा रिटेल बैंकिङ्गतर्फ ‘Domestic Retail Bank of the Year (Nepal)’ र ‘SME Bank of the Year (Nepal)’ अवार्डबाट सम्मानित भएको जनाएको छ।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानहरूले होलसेल तथा रिटेल बैंकिङ्ग सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त (ट्रेड फाइनान्स), उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धताको अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यांकन र मान्यता झल्काउँछन्।
अवार्ड प्राप्तिको अवसरमा बैंकले आफ्नो सफलतामा निरन्तर विश्वास र साथ दिँदै आएका सेयरधनी, ग्राहक तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगले बैंकलाई सेवा थप सुदृढ बनाउँदै राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरणा मिलेको जनाएको छ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालय मार्फत ग्राहकलाई सेवा उपलब्ध गराइरहेको छ।

